एक महिनामा ३ अर्बको सवारी साधन भित्रिए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

मुलुकको मुख्य नाका वीरगन्जबाट एक महिनामा सवा ३ अर्ब रुपियाँभन्दा बढी मूल्यका सवारीका साधन भित्रिएका छन्। गत कात्तिक महिनामा यो नाकाबाट ३ अर्ब ३३ करोड रुपियाँका विभिन्न सवारीका साधन आयात भएको वीरगन्ज भन्सारले जनाएको छ।

भन्सार प्रमुख सेवन्तक पोखरेलले भारत र तथा तेस्रो मुलुकबाट सो अवधिमा आएका सवारीका साधनबाट मात्र ३ अर्ब ६९ करोड रुपियाँ राजस्व संकलन भएको बताउनुभयो। चालू आर्थिक वर्ष २०७४⁄७५ को कात्तिक महिनामा सबैभन्दा बढी मोटरसाइकल आयात भित्रिएको छ।सो अवधिमा १ अर्ब ३ करोड ९८ लाख रुपियाँ बराबरका मोटरसाइकल आयात भएको छ। यसबाट १ अर्ब ७ करोड ६४ लाख रुपियाँ राजस्वमा योगदान पुगेको छ,’ भन्सार प्रमुख पोखरेलले भन्नुभयो।

अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा वीरगन्ज नाकबाट ३ अर्ब ४१ करोड रुपियाँको सवारीका साधन आयात भएको थियो। भन्सारले यो आयातबाट मात्र एक महिनामा ४ अर्ब ५ करोड रुपियाँ राजस्व असुली गरेको थियो।वीरगन्ज नाकाबाट हुने आयातमध्ये सवारीका साधन बढी राजस्व दिने वस्तुमा पर्छ। २०७२⁄७३ को ६ महिने मधेस आन्दोलन र नाकाबन्दीका कारण यो नाकाबाट हुने गाडीको आयात अन्य नाकातिर केन्द्रित भए पनि राजस्व योगदानका आधारमा अहिले पनि मुख्य वस्तुकै सूचीमा छ।सवारीका साधनमा सरकारले उच्च दरमा राजस्व लिनेको गरेको छ। गाडीको आयातमा २ सय ३० प्रतिशतसम्म राजस्व लिने गरिएको छ।