माहिका सेमिफाइनलमा


नेपाल समाचारपत्र
काठमाडौं
माहिका राणा १५औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन्। प्रायः प्रतियोगितामा जुम्ल्याहा दिदी मायांकासँग फाइनलमा प्रतिस्पर्धा गरेकी माहिकाले यो पटक भने अन्तिम चारमै दिदी मायांकालाई प्रतिद्वन्द्वीका रूपमा पाएकी छिन्। मायांका बाई पाएर सीधै अन्तिम चारमा पुगिसकिन्। अर्को सेमिफाइनलमा प्रेरणा कोइराला र विजिशा श्रेष्ठबीच हुनेछ। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वार्टरफाइनलमा माहिकाले एनी माथेमालाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै मायांकासँग भेट पक्का गरेकी हुन्।

यस्तै यू–१४ गल्र्स सिंगल्समा रायना शाहले शुभाङ्गलक्ष्मी शाहलाई ६–३ र ६–२, सर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ७–६ र ६–४, ईशाश्री शाहले स्नेहा यादवलाई ६–१ र ६–२ तथा अभिलाषा विष्टले अजा रेग्मीलाई ६–१ र ६–० को सीधा सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे।
ब्वाइज डबल्समा सरोज तामाङ र सफल श्रेष्ठ तथा आदित सुवेदी र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे। सरोज र आदित्यको जोडीले इभ्येक जोशी र आदित्य सुवेदीबाट वाक ओभर पाए। आदित र प्रणवको जोडीले आरभसम्राट हाडा र आर्यन गिरीको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा हराए।