जग्गा अधिग्रहणमा परेका किसान आन्दोलित

0
Shares

यमलाल भुसाल, बुटवल

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहणमा परेका किसानले सहज र छिटो मुआब्जाको रकम पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। केही दिनदेखि आन्दोलित किसानले सोमबार बिहानैदेखि निर्माणाधीन धावनमार्गको काम ठप्प पारी आयोजनास्थलमा निर्माण सामग्री लैजानसमेत अवरोध पराएका छन।

आयोजनाले मुआब्जा सहज रुपमा उपलब्ध गराउनेतर्फ सहजीकरण नगरेको, मुआब्जा लिनका लागि आवश्यक कागजात पेश गर्दा मालपोत, नापी, वनलगायतका कार्यालयका कर्मचारीले धेरै दिनसम्म अल्झाएर दुःख दिने गरेको, केही कर्मचारीले किसानसंँग अतिरिक्त पैसा माग्ने गरेको, चाँडो मुआब्जा उपलब्ध गराइदिने भन्दै बिचौलियाले कमिसन माग्ने गरेको आन्दोलित किसानले आरोप लगाएका छन्।
आन्दोलनरत किसानले मुआब्जा प्रक्रिया चाँडो र सहज रुपमा उपलब्ध गराइनुपर्ने माग राख्दै आए पनि कुनै सुनुवाई नभएको र मुआब्जा पाउनका लागि किसानले महिनौंसम्म धेरै कार्यालय धाउँदा पनि पाउन नसकेको गुनासो गरेका छन्।

जग्गा अधिग्रहणमा परेपछि जोतभोग पनि गर्न नपाइने र मुआब्जा पनि नपाइनाले आर्थिक समस्यामा परेको भनाइ आन्दोलित किसानको छ। डेढ महिना अघि पनि उनीहरू यही माग राखेर आन्दोलित भएका थिए। गौतम बुद्ध विमानस्थललाई सम्पूर्ण भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माणका लागि पछिल्लोपटक थप ५ सय बिगाहा जमिन अधिग्रहण गरिएको हो।

अधिग्रहणपश्चात् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल ७ सय ८७ बिगाहा कायम भएको छ। पछिल्लोपटकको घर जग्गासहित जग्गा अधिग्रहणमा पर्नेको संख्या २ हजारभन्दा धेरै रहेका छन्। किसानको मुआब्जाका लागि आयोजनाले करिब २३ अर्ब रुपियाँ वितरण गर्नुपर्ने भएको छ।

हालसम्म आयोजनाले करिब ४ सय घर परिवारलाई मुआब्जा वितरण गरेको जनाएको छ।आयोजनाका प्रमुख ओम शर्माले हालसम्म करिब ७० बिगाहा जमिनका लागि साढे ३ अर्ब रुपियाँ वितरण गरेको बताउनुभयो।

उहाँका अनुसार नापी कार्यालयमा आवश्यकता अनुरुप जनशक्ति नहुँदा जग्गा छुट्याउन समय लाग्ने गरेकाले किसानले मुआब्जाका लागि धेरै दिन कुर्नु परेको बताउनुभयो।

चाँडो मुआब्जा उपलब्ध गराउन विमानस्थलको मात्रै काम गर्ने गरी ५ जना सर्वेक्षकको टिम उपलब्ध गराउन भनेर नापी विभागसंग पत्राचार गरी माग गरेको आयोजनाका प्रमुख शर्माले बताउनुभयो।