सुकीविरुद्ध आमनरसंहार मुद्दा लाग्न सक्ने


न्युयोर्क, (एजेन्सी)
जेइद राद अल हुस्सेन म्यान्मारमा अल्पमत मुश्लिम समूह रोहिंग्याविरुद्ध भएका भयानक हिंसात्मक आक्रमणका पीडकलाई कारबाही होस् भन्ने चाहन्छन्। विश्वभरिको मानव अधिकार मामिला हेर्ने संयुक्त राष्ट्र संघीय निकायका अध्यक्ष भएको हैसियतले पनि उनको भनाइमा निकै वजन देखिन्छ।

हुस्सेन म्यान्मारका नेता आङ सान सु की र सशस्त्र फौजका प्रमुख जनरल आङ मिन लाइङलाई भविष्यमा कुनै पनि समय आमनरसंहारको अभियोग लाग्ने सम्भावना धेरै रहेको बताउँछन्।

यसै महिनाको शुरूमा जेइदले रोहिंग्याविरुद्ध लगातार व्यापकरूपमा भएको दमनलाई हेर्दा आमहत्या नकार्न नसकिने कुरा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्लाई बताएक थिए। म्यान्मारको उत्तरी रखाइन राज्यमा रोहिंग्यामाथि बौद्ध समुदाय र सरकारी फौजबाट भएको आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय जगतले आलोचना गर्न थालेपछि सुकीले संयुक्त राष्ट्र संघको वार्षिक महासभामा भाग लिएको थिइनन्।

त्यसैगरी गत अगस्टयता झन्डै ६ लाख ५० लाख रोहिंग्या मुश्लिम भागेर छिमेकी मुलुक बंगलादेशमा सरण लिन पुगेका छन्। सरकारी फौजले भने त्यहाँका हिंसात्मक घटनाहरुमा आतंककारीको हात रहेको बताउँदै आएका छन्। म्यान्मारमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेकी सुकीलाई तत्कालीन जुन्ता सरकारले लामो समयसम्म नजरबन्दी बनाएको थियो।