जनजाति भिडन्तमा ६१ जना मारिए


इरिट्रिया, (एजेन्सी)
इथियोपियाको आरोमिया क्षेत्रमा बिहीबारदेखि शुरू भएको विभिन्न जनजाति समूहबीचको भिडन्तमा कम्तीमा ६१ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। तर जनजाति समूह सोमालिस र ओरोमोसबीच भएको हिंसाको स्पष्ट कारण भने अझै खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।

तर रोयटर्स समाचार निकायले मंगलबार एउटा प्रदर्शनमा सरकारी सेनाले १६ जना ओरोमोस जनजातिलाई गोली हानी मारेपछि हिंसा फैलिएको हो। इथियोपियाको ओरोमिय र सोमालिया क्षेत्रबीच लामो आन्तरिक सिमाना रहेको छ। विगतमा पनि तिनीहरुबीच पटकपटक चौपाया चरनको विषयलाई लिएर भिडन्त हुने गरेको थियो।

ओरोमिया सरकारका प्रवक्ता एडिसु एरेगाले आफ्नो फेसबुक पेजमा मृतकको संख्या उल्लेख गरेका छन्। उनले १४ देखि १७ डिसेम्बरबीच २९ जना ओरोमोस र ३२ जना सोमाली इथियोपियाली जनजाति मारिएको जनाएका छन्। उनले हावी गुडिना र दारो लेवु जिल्लामा भिडन्त भएको बताएका छन्। ओरोमिया र सोमाली इथियोपियाका ठूलो भूभाग ओगटेका क्षेत्र हुन्।

ओरोमोस इथियोपियाको सबैभन्दा ठूलो जनजाति समूह हो। इथियोपियाको करिब एक तिहाइ जनसंख्या यिनीहरूले नै ओगटेका छन्। जबकि कुल जनसंख्याको ६ प्रतिशत इथियोपियाली सोमाली रहेका छन्। यस्ता भिडन्तका कारण हजारौं व्यक्ति आन्तरिक रुपमा विस्थापित हुने सम्भावना बढेको छ।