निजी क्षेत्रले लगानीको सुनिश्चितता खोज्यो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारले बाह्य र आन्तरिक दुवै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता गर्ने बताउनुभएको छ। आइतबार नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा ओलीले लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवम् व्यावसायिक विकास सम्भव भएको बताउनुभएको हो।

भेटघाटका क्रममा उहाँले भन्नुभयो–‘अबको सरकारले निजी क्षेत्रसँग नजिकको सम्बन्ध स्थापना गरी व्यवसाय प्रवद्र्धन, स्वदेशमै रोजगारी वृद्धिका ठोस कार्यक्रम र नीतिसहित अघि बढ्ने छ।’ उहाँले संयुक्त राष्ट्रसंघको दिगो विकास आर्थिक लक्ष्यको मुख्य उद्देश्यमध्ये उत्पादन वृद्धिको माध्यमबाट मुलुकमा गरिबी हटोस् र भोक भोकै कोही पनि बस्न नपरोस् भन्ने निश्चितताका लागि यो अपरिहार्य रहेको बताउनुभएको थियो। भेटघाटको अवसरमा ओलीले भन्नुभयो–‘हामी उदार अर्थ नीतिको पक्षधर हौं। विकास गर्ने ठोस ढाँचा र योजनासँगै हामी आएका छौं। आगामी सरकार निजी क्षेत्रमैत्री हुन्छ। हामीलाई अहिले ठूलो अवसर छ, यसमा हामी प्रतिबद्ध छौं।’

उहाँले भन्नुभयो–‘अब पुरानो अवधारणाबाट मुलुक चल्दैन। हामीले अब अरूको बजार र उपभोक्ता मात्र नभएर आफ्नै बजारको अवधारणामा काम गर्नुपर्छ। आधुनिक र समय सापेक्ष प्रविधि विकासको विकल्प नभएको वस्तु स्थितिमा निजी क्षेत्रले आर्थिक समृद्धिका स्पष्ट धारणा निजी क्षेत्रले नै ल्याउनुपर्छ।’

ओलीले वित्तीय क्षेत्रमा भएको पुँजीको लगानी अनुत्पादक क्षेत्रमा थोरै ब्याजमा लगानी गर्ने परिपाटी रहेको बताउँदै पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको थियो। भेटघाटका क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले करिब एक शताब्दीपछि मुलुकलाई रूपान्तरणसहित अर्को तहको विकासमा पुर्याउने अवसर आगामी सरकारलाई प्राप्त भएको उल्लेख गर्नु भयो।

उहाँले निजी क्षेत्रलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन विधिको शासन, प्रभावकारी सुशासनको प्रवद्र्धन र नीतिगत स्थायित्वको आवश्यकता रहेको र यी तीनवटै उद्देश्य हासिल गर्न आगामी सरकारले हाल देशमा विद्यमान रहेका निकै पुराना भइसकेका ऐन कानुन र तीनमा भएका अमूर्त, अस्पष्ट, विरोधाभाषपूर्ण र अप्रासंगिक प्रावधानको संशोधन, परिमार्जन वा खारेज हुनुपर्ने माग गर्नुभएको थियो।