चुनावपछि पुँजी बजारका लगानीकर्ताको १८ अर्ब गुम्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सकिएपछिको पहिलो साता शेयर बजार १६ दशमलव ३९ अंकले ओरालो लागेको छ। चुनावको पाँचै दिन कारोबार भएको यस साता नेप्से परिसूचक १ हजार ५ सय ३६ दशमलव ५४ अंकबाट शुरु भएर १ हजार ५ सय २० दशमलव १५ अंकमा पुगेर रोकिएको हो।

साताको चौथो दिन बजार परिसूचक दोहोरो अंकले बढे पनि अन्य दुई दिनको गिरावटले साताको परिसूचक नकारात्मक देखाएको हो। यस साता कारोबार भएको पहिलो तीन दिन निरन्तर ओरालो लागेको शेयर बजार चौथो दिन भने १० दशमलव ५३९ अंकले बढ्दै सुधारको संकेत देखिएको थियो। तर, बजार अन्तिम दिन पनि घट्दा नेप्से सुध्रिने कुनै संकेत देखाएन।

नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा १ दशमलव ९७ अंकले घटेर ३ सय २० दशमलव ६५ अंकमा आइपुगेको छ।

अघिल्लो साता १ सय ७३ कम्पनीका ३३ लाख ७० हजार कित्ता शेयर १ अर्ब ८१ करोड २७ लाख रुपियाँमा कारोबार भएको थियो। तर, यस साता नेप्सेमा २ अर्ब ९२ करोड ८३ लाख ६ हजार रुपियाँको शेयर कारोबार भएको छ।

पछिल्लो समय देशकै अर्थतन्त्र चलायमान हुँदा पनि पुँजी बजारमा सुधारिन सकेको छैन। बजारमा कारोबार निरन्तर बढे पनि परिसूचक भने निरन्तर ओरालो लाग्दै आएको हो। राजनीतिक गतिविधि बढ्दै जाँदा अर्थतन्त्र चलायमान भई शेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूले तर्क गरे पनि बजार ओरालो लागेको हो। यस साता नेप्सेमा २ अर्ब ९२ करोड ८३ लाख ६ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। त्यस क्रममा नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीका ५७ लाख ९५ हजार ७ सय ३० कित्तँ शेयर २३ हजार ७ सय २७ पटक कारोबार भए। यस अवधिमा लगानीकर्ता विशेषतः पर्ख र हेरको अवस्थामा रहेकाले बजारको घटेको लगानीकर्ताले जनाए पनि परिसूचक घट्ने तथा कारोबार रकम बढ्नुले ठूला लगानीकर्ता साना लगानीकर्ता तर्साउन शेयर मूल्य घटाउने खेलमा लागेको आरोप लगाएका छन्।

कारोबार रकम अघिल्लो साताको तुलनामा ६१ दशमलव ५४ प्रतिशत बढी हो। अघिल्लो साता १ सय ७३ कम्पनीका ३३ लाख ७० हजार कित्ता शेयर १ अर्ब ८१ करोड २७ लाख रुपियाँको कारोबार भएको थियो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) करिब १८ अर्ब रुपियाँले घटेको छ। यत साता बजार पुँजीकरण १७ खर्ब ८५ अर्ब ४८ करोड रुपियाँबाट घटेर १७ खर्ब ६७ अर्ब ५६ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

यस साता कारोबारमा आएका १० वटामध्ये बैंकिङ र बीमालगायतका मूख्य ७ समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक ओरालो लागेको हो। घट्नेमा सबैभन्दा धेरै बीमा समूह २ सय ३३ दशमलव ८१ अंकले घट्यो। त्यस्तै होटल, जलविद्युत् र विकास बैंक समूह क्रमशः ६२ दशमलव २६, ३८ दशमलव २ र ३३ दशमलव २३ अंकले ओरालो लाग्दा लघुवित्त, बैंकिङ र वित्त समूह पनि क्रमशः २९ दशमलव २९, १३ दशमलव २२ र ४ दशमलव ७४ अंकले ओरालो लागे।

बढ्नेमा उत्पादनमुलक र अन्य समूह मात्र रहे। ती समूह क्रमशः ८४ दशमलव १२ र १९ दशमलव ३८ अंकले सुधारिँदा ट्रेडिङ समूह भने स्थिर रह्यो। यस साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो। बैंकको कूल ४३ करोड ३६ लाख ८० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार भएको शेयर संख्याको आधारमा ग्लोबल आइएई बैंकले शीर्ष स्थान ओगटेको छ। यस साता बैंकका ४ लाख ८२ हजार कित्ता शेयर कारोबार भएका थिए।

त्यसैगरी कारोबार संख्याको आधारमा पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो छ। बैंकका कूल ३ हजार ६ सय १६ वटा कारोबार भएका थिए। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा ग्लोबल आईएमई बैंक, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयर रहेका छन्।

यस साता ४ वटा कम्पनीका १ करोड ५१ लाख कित्ताभन्दा बढी शेयर नेप्सेमा सूचीकृत भएका छन्। तीनमध्ये अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख ३ हजार २ सय ४७ कित्ता, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६४ लाख २० हजार कित्ता, मुक्तिनाथ विकास बैंकका ६१ लाख ७० हजार ८ सय ६५ दशमलव शून्य ४ कित्ता हकप्रद शेयर र नेको इन्स्योरेन्सका ७ लाख १२ हजार ८ सय ९५ दशमलव ९९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भए।