महानगर दिवस सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक सहभागिताले दिगो विकास र सुविधा वितरण न्याय हुने भएकाले महानगरको समृद्धिमा महानगरबासीले अपनत्व बोध गर्न आग्रह गर्नुभएको छ। महानगर दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाडौं महानगरसँगै उपत्यकाको जीवन्तताका लागि आफूले नेतृत्व गर्ने बताउनुभयो।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले साझा समस्या मिलेर समाधान गर्न सके दिगो हुने धारणा राख्नुभयो। रचनात्मक काम र साझा मत निर्माण, महानगरको समृद्धिका आधार रहेको उहाँको धारणा थियो।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले साविकका स्थानीय निकाय अब सरकार भएको बताउनुभयो। कार्यक्रममा मेयर शाक्यले हिमालय बंैक लिमिटेडका महाप्रबन्धक सुशील जोशीलाई संस्थागततर्फ उत्कृष्ट करदाता सम्मान प्रदान गर्नुभयो। समारोहमा वर्षको उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैंक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मानित गरियो।

त्यस्तै विद्युतीय नक्सा पास प्रणालीमा ५ जना डिजाइनरहरूलाई इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम( एवीपीएस) को डिजिटल साँचो हस्तान्तरण गरियो। यसरी साँचो पाउनेहरूमा क्रिएटिभ डिजाइन आर्किटेक्ट लिमिटेड, केज कन्सल्ट, सस्टेनेबल स्ट्रक्चर, एटिक कन्सल्टिङ् सर्भिस र सापकोटा एन्ड सन्स रहेका छन्।

सोही अवसरमा महानगरमा २० वर्षभन्दा बढी सेवा गर्ने ५ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरियो। यसरी पदक पाउनेहरूमा अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउद हुनुहुन्छ। दिवसको अवसरमा बसन्तपुरबाट झाँकीसहित प्रभातफेरि आयोजना गरिएको थियो।