पुष्कर बुढाथोकी, भक्तपुर
नेपाल मजदुर किसान पार्टीको गढका रूपमा चिनिएको भक्तपुर जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलो पार्टी भएको छ। भक्तपुरमा एमालेले ४२ हजार ७ सय ७६ मत प्राप्त गरेको छ भने नेमकिपाले ३५ हजार ५ सय ९० मत पाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार कांग्रेसले २६ हजार १ सय ५३ मत ल्याई तेस्रो स्थान हासिल गरेको छ। कार्यालयका निर्वाचन अधिकृत उमेश राईका अनुसार भक्तपुर क्षेत्र नं १ मा एमालेले १६ हजार ३ सय ८५, कांग्रेसले १० हजार १ सय ५८ र नेमकिपाले ३० हजार ७९ मत पाए भने क्षेत्र नं २ मा एमालेले २६ हजार ३ सय ९१, कांग्रेसले १५ हजार ९ सय ९५ र नेमकिपाले ५ हजार ४ सय ११ मत पाएका छन्।
भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका महेश बस्नेत विजयी भएका थिए। भक्तपुर क्षेत्र नं १ अन्तर्गत एउटा प्रदेशसभामा नेमकिपाले जित हासिल गरे पनि जिल्लाका अन्य ३ वटै प्रदेशसभामा वाम गठबन्धनले नै जितेका छन्।
भक्तपुर क्षेत्र नंं २ को समानुपातिक निर्वाचनमा पनि एमाले पहिलो भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ २६ हजार ३ सय ९१ मत ल्याएर एमाले पहिलो बनेको हो। कांग्रेसले १५ हजार ९ सय ९५ मत ल्याएको छ। कांग्रेसभन्दा पछि रहेको विवेकशीलले ५ हजार ७ सय ३४ मत, नेमकिपाले ५ हजार ४ सय ११, माओवादी केन्द्रले ४ हजार १ सय १५ र राप्रपाले १ हजार ७ सय ९३ मत पाएका छन्। समानुपातिकतर्फ ६३ हजार ९ सय ४९ मत खसेकोमा २ हजार ६६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै, प्रदेश ‘क’ र ‘ख’ मा पनि एमाले पहिलो पार्टी बनेको छ। प्रदेश ‘क’ मा एमालेले १५ हजार २ सय ७० ल्याएर पहिलो पार्टी बनेको छ। कांग्रेसले ६ हजार ७ सय ५६ मत पाएर दोस्रो स्थानमा रहेको छ। कांग्रेसभन्दापछि रहेको विवेकशीलले ३ हजार ३ सय ९२ मत, नेमकिपाले २ हजार ८ सय ३, माओवादी केन्द्रले १ हजार ५ सय ४१ र राप्रपाले १ हजार ९ मत पाएका छन्। समानुपातिकतर्फ प्रदेश ‘क’ मा ३३ हजार ७ सय १४ मत खसेकोमा १ हजार ८ सय ५८ मत बदर भएको कार्यालयले जनाएको छ।
प्रदेश ‘ख’ मा एमालेले ९ हजार ६ सय ३० ल्याएर पहिलो पार्टी बनेको छ। कांग्रेसले ८ हजार १ सय ८९ मत पाएर दोस्रो स्थानमा रहेको छ। कांग्रेसभन्दा पछि रहेको नेमकिपाले २ हजार ८ सय २, माओवादी केन्द्रले २ हजार ६ सय ९७, विवेकशीलले २ हजार ५ सय ९० मत र राप्रपाले ८ सय ५ मत पाएका छन्। समानुपातिकतर्फ प्रदेश ‘ख’ मा २८ हजार ५ सय ४३ मत खसेकोमा १ हजार ६ सय ९२ मत बदर भएको कार्यालयले जनाएको छ।











प्रतिक्रिया