सञ्जय कार्की, रौतहट
निर्वाचनको दिन पार्टी परिर्वतन गरेर उम्मेदवार बनेकाहरू रौतहटमा नराम्रोसँग पराजित भएका छन्। पराजित हुनेमा मधेसवादी दलबाट उम्मेदवार बन्नेहरू रहेका छन्। रौतहटको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस परित्याग गरी राजपा नेपालबाट ओमप्रकाश जयसवाल र क्षेत्र नम्बर ४ बाट कन्थमणिप्रसाद कलवारले उम्मेदवारी दर्ता गर्ने दिन कात्तिक १६ गते टिकट पाएपछि उनीहरू चुनावी मैदानमा उत्रेका थिए।
यस्तै नयाँ शक्ति पार्टीका किरणकुमार साहले क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन्। क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका बबन सिंहले स्वतन्त्ररूपमा उम्मेदवारी दिए पनि उनीसमेत पराजित भएका छन्। प्रतिनिधिसभामा तीनै जनाको उम्मेदवारी रहे पनि उनीहरूले यसपटकको निर्वाचनमा नराम्रोसँग पराजय व्यहोर्नुपरेको छ।
क्षेत्र नम्बर ४ का कन्थमणिप्रसाद कलवारले ७ हजार ८ सय ८१, क्षेत्र नम्बर ३ का ओमप्रकाश जयसवाल १४ हजार ६ सय ५८, क्षेत्र नम्बर २ का किरणकुमार साह १६ हजार ८ सय ६५ क्षेत्र नम्बर १ मा बबन सिंहले १ हजार ६ सय ६९ मत प्राप्त गरीका हुन्। प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएका चार जनामध्ये तीन जनाको श्रीमती नै स्थानीयतहको निर्वाचनमा भाग लिएका थिए एक जना विजयी भए पनि २ जना पराजित भएका थिए। एक जना स्वयं स्थानीय तहको निर्वाचनमा भाग लिएर पराजय भोगेका हुन्।
क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण साहको श्रीमती शर्मिला कोइराला स्थानीय तहको निर्वाचनमा राजपुर नगरपालिकाको उपप्रमुख पदमा २ हजार २ सय ५ मत प्राप्त गरी पराजित भएकी थिइन्। यस्तै क्षेत्र नम्बर ३ का ओमप्रकाश जयसवालको छोरा अजय प्रकाश जयसवालले कटहरिया नगरपालिकाको प्रमुखमा ३ हजार ६ सय १२ मत प्राप्त गरी पराजय भोगेका हुन् भने क्षेत्र नम्बर ४ का कन्थमणिप्रसाद जैयसवाल स्वयं गरुडा नगरपालिकाको प्रमुख पदमा १ हजार ३ सय ५९ मत प्राप्त गरे पनि पराजय भोगेका हुन्। क्षेत्र नम्बर १ का बबन सिंहका श्रीमती राजदेवी नगरपालिकाको प्रमुख पदमा ३ हजार ८ सय ५७ मतका साथ विजयी भएकी हुन्। यसैबीच रौतहटमा १ हजा ९८ जना उम्मेदवारको जमानत जफत भएको छ।
प्रतिक्रिया