फिल्मकर्मी र सञ्चारकर्मी सम्मानित

0
Shares

फिल्मकर्मी र सञ्चारकर्मीलाई सम्मान गरिएको छ। ड्रिम वल्र्ड अफ फिल्ममेकर्सले बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मकर्मी र सञ्चारकर्मीलाई सम्मान गरेको हो।

सो अवसरमा फिल्म निर्देशक, लेखक तथा फिल्म अध्यापक लक्ष्मीनाथ शर्मालाई ४ दशकदेखि फिल्म क्षेत्रमा योगदान पुर्याएबापत १५ हजार रुपियाँ नगदसहित श्याम–सुनीता विशिष्ट चलचित्रकर्मी पुरस्कार प्रदान गरियो। २०२९ सालमा गाईजात्रा डकुमेन्ट्रीको पटकथा लेखनमार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेका शर्माले बदलिँदो आकाशबाट फिल्म निर्देशन यात्रा शुरू गरेका थिए। भारतको पुना पुगेर फिल्म पढेका शर्माले शान्तिदीप, साथी, सारंगी, विद्रोही, मिलन, जित, छोरीबुहारी, वर–पीपललगायत दर्जनभन्दा बढी फिल्म निर्देशन तथा लेखन कार्य गरेका छन्। उनी फिल्म कलेजमा फिल्म विषयका अध्यापन पनि गर्दै आएका छन्।

त्यसै गरी शान्तिप्रियलाई १५ हजारसहित वरिष्ठ चलचित्रकर्मी पुरस्कार तथा फूलमान वललाई ११ हजार १ सय रुपियाँसहित युवा चलचित्रकर्मी पुरस्कार प्रदान गरियो। शान्तिप्रियलाई फिल्म पत्रकारिता र गीत लेखनमा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको हो भने फिल्म सेलफोनबाट निर्देशनमा हात हालेका पत्रकार वलले हाल फिचर फिल्म नीरफूल निर्देशन गरिरहेका छन्। उनका महाभारतकी मैच्याङ (कविता संग्रह) र काजोल खातुन (कथा संग्रह) पनि प्रकाशित छन्।

समारोहमा अभिनेतृ एवं निर्देशक दीपाश्री निरौला र फिल्मकर्मी विनोद पौडेललाई सम्मानित गरियो। कार्यक्रममा साहित्यकार तथा फिल्मकर्मी चेतन कार्कीले सम्मान र पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सम्मानको परम्पराले नेपाली फिल्म क्षेत्रलाई माथि उठाउने चर्चा गरे भने अभिनेतृहरू चैत्यदेवी, भुवन चन्द, वसुन्धरा भुसाल, साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र फिल्मकर्मी मोहन निरौलालगायतले पुरस्कार र सम्मानबारे चर्चा गरे।