आजदेखि महानगरमा डिजिटल नक्सा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगर क्षेत्रमा घर निर्माण गर्नेले अब डिजिटल नक्सा पाउने भएका छन्। महानगर स्थापना भएको २२ वर्षपछि महानगरपालिकाले हस्तलिखित नक्सा विस्थापन गर्न लागेको हो। अब महानगरपालिकामा नक्सा निर्माण गर्ने इन्जिनियरले पनि डिजिटल नक्सा पेस गर्नुपर्ने भएको छ।

२३औं महानगर दिवसको उपलक्ष्यमा महानगरले डिजिटल नक्सा पास शुभारम्भ गर्न लागेको हो। आज शुक्रबार आयोजना हुन लागिएको विशेष समारोहमा महानगरले इन्जिनियरलाई पासवर्डको साँचो उपलब्ध गराउने भएको छ। कामपा नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले अब नक्सा पास गर्दा कामपाका नक्सा प्रमुख र इन्जिनियरले डिजिटल हस्ताक्षर गर्नुपर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘डिजिटल नक्सा बनेपछि नक्साको इजाजत दिने र नक्साको विवरण पेस गर्ने इन्जिनियरको नाम रहनेछ। घरधनीले पास गरेको नक्साको हस्ताक्षर हेर्न फाइल डाउनलोड गर्नुपर्नेछ।’

कामपाका मेयर विद्यासुन्दर शाक्यले आजबाट महानगरमा जिडिटल नक्साको शुरुआत गर्न लागिएको जानकारी दिनुभयो। नक्सा पास प्रणालीप्रति विश्वास घट्दै गएपछि कामपाले डिजिटल नक्सा पास प्रणाली शुरू गरेको हो। मेयर शाक्यले काम शुरू गरेपछि केही दिनभित्र पूर्ण कार्यान्वयनमा आउने जानकारी दिनुभयो। कामपाले पुराना करिब १ लाख १३ हजार नक्सालाई डिजिटल गरिसकेको छ। तर यो वर्षदेखि नक्सापास प्रक्रिया नै डिजिटल प्रणालीबाट शुरू गर्न लागेको हो।

कामपाले आजैबाट कामपाका केही वडालाई फ्री वाइफाइ जोनका रूपमा विकास गर्ने भएको छ। अधिकांश प्रणाली डिजिटल भएपछि नगरबासीलाई काममा सहज गर्न फ्री वाइफाइको शुरुआत गर्न लागेको हो। मेयर शाक्यले महानगर विकासका लागि थप कार्यक्रम घोषणा गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले क्लिन द सिटी अभियानलाई निरन्तरता दिने, बाटो विस्तार कार्यक्रमलाई थप प्रभावकारी बनाउने, कला संस्कृतिको विकासका लागि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभयो।

उत्कृष्ट करदाता, लामो समयसम्म काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गर्नेलगायतका कार्यक्रम रहेको जानकारी गराउँदै कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नयाँ योजनाका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।

यसै गरी महानगर स्थापनाको अवसरमा कामपाले बिहीबार राजधानीका ११ स्थानको सडकको धुलो संकलन गरेको छ। मेयर, उपमेयर, वडा अध्यक्ष र कर्मचारीको सहभागितामा धुलो र फोहोर संकलन गरिएको थियो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरले ११ स्थानबाट ५९ टन सडकको धुलो संकलन गरिएको जानकारी दिनुभयो।
शहीदगेट, वसन्तपुर, असनचोक, रत्नपार्क, गौशाला, नारायणचौर, नयाँ बानेश्वर चोक, नारायणगोपाल चोक, पुरानो बसपार्क, क्षेत्रपाटी चोक र परोपकार पुलपारि क्षेत्रबाट उक्त परिमाणमा धुलो संकललन गरेको हो।

महानगर दिवसको अवसरमा आज शुक्रबार वसन्तपुरबाट झाँकीसहित र्याली गरी राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा उत्कृष्ट करदाता सम्मान, सफाइ अभियन्ता सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायतका सम्मान कार्यक्रम गरिने भएको छ।

काठमाडौं महानगरले यसअघि प्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो। १९७६ पुस २ गते सफाइ अड्डाको रूपमा स्थापित काठमाडौं नगरपालिकालाई विसं २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो।