निर्वाचनले विकास र सृमद्धिको आकांक्षा जगायोः ओली

0
Shares

नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनहरूले जनतामा नयाँ–नयाँ आकांक्षा जन्माउने बताउनुभएको छ। यसपालिको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताउनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताउनुभयो। ‘निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग कांग्रेसको पालामा बेचिए’, ओलीले भन्नुभयो– ‘जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन्।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताउनुभएको छ।

सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीलाई आफ्नो पुँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा ओलीले बताउनुभयो। ‘आफ्नै खाताबाट १० लाख रुपियाँभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’, ओलीको प्रश्न थियो– ‘सरकारको काम लगानीमैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैरकानुनी रकम आजर्न गर्ने होइन।’
अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताउनुभयो।

महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ।
ज्ञापनपत्रमा वाम गठबन्धनको दुई तिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महसुस भएको उल्लेख छ। ज्ञापनपत्रमा भनिएको छ– ‘तपाईंको नेतृत्वमा गठन हुने आगामी सरकारले समृद्धि र आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामूलक सहयोग र साथ रहने विश्वास दिलाउन चाहन्छौं।’ ओलीले आगामी सरकार देश निर्माणका लागि निजी क्षेत्रसँग हातमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसै गरी बालकोटमै अध्यक्ष ओलीलाई बधाई दिन आएको नेपाल राष्ट्रिय माडवारी परिषद् केन्द्रीय समितीसँग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।

तर, यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिँदै वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषद्लाई आग्रह गर्नुभएको छ। सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादन आदि कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकाले व्यावसायिक क्षेत्र अनुमानका भर सञ्चालन भइरहेको ओलीले स्पष्ट पार्नुभयो।

‘नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधि खुवाइँदै छ’, ओलीले भन्नुभयो– ‘अब यस्तो हुँदैन। उद्योग, मजदुर, उत्पादन, बजार आदि सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसैअनुसार समाधान पनि खोजिनेछ।’