बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । जिल्लाका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु थियो, त्यसको सकारात्मक प्रभाव पछि उक्त कार्यक्रम पुनः थप भई कार्य क्षेत्र विस्तार गरिएको छ ।

पहिले पहिले महिनावारी हुँदा समेत विद्यालय अनुपस्थित हुने बालिकाहरूमा सो कार्यक्रम लागू भएपछि परिवर्तन भई आफ्ना समस्याहरू धक फुकाएर अभिभावक तथा समाजसमक्ष राख्न सक्ने भएका छन् । उनीहरू आफुमा आएका कुनै पनि समस्या खुलेर भन्ने क्षमताको विकास भएको छ । त्यसको कारण हो बहिनी शिक्षाका लागि दिदी कार्यक्रम । उक्त कार्यक्रम ग्लोबल एक्सनले सञ्चालनमा ल्याएको हो ।

अहिले बालिकाहरूमा आफ्नो समस्या साथी, अभिभावक तथा समाजका अगुवाहरूसँग भन्नुपर्छ भन्ने बानीको विकास भएको दोर्दी गाउँपालिका अर्चलबोट स्थित लक्ष्मीनारयाण माविको कक्षा १० मा अध्यायनरत इन्दिरा कुवंर बताउँछिन् ।
उप जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईले कार्यक्रमले बालिकाको क्षेत्रमा परिवर्तन ल्याएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै स्थानीय तहमा महिला जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले गुणस्तरीय शिक्षा र लैङ्गिक समानताका लागि यो कार्यक्रम प्रभावकारी पाएको छु । जिल्लाका सबै विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गरे थप उपलब्धी हासिल हुन सक्ने बताउनुभएको छ ।

बालिका शिक्षा जिल्ला सञ्जालका अध्यक्ष समेत रहनु भएका जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन भएसँगै सामुदायिक विद्यालयमा अध्यायन गर्ने बालिकामा खुलेर बोल्ने विकास भएको समेत बताउनुभयो । त्यसैले कार्यक्रम थप भएमा ग्लोबल एक्सनले गरेको कामको शिक्षा कार्यालयले समन्वयात्मक भुमिका खेलीदिने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो । कार्यक्रममा १२ वटै सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको छ । सो कार्यक्रम पछि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा छात्रा विद्यार्थीको सहभागीता बढेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकका भनाई छ । उनीहरुले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।

लमजुङमा पहिलो चरणको कार्यक्रम सफल भएपछि यसलाई निरन्तरता दिनको लागी दोस्रो चरणको कार्यक्रम शुरु भएको उक्त कार्यक्रमका शिक्षक प्रशिक्षक संयोजक मनहरि घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त कार्यक्रम पहिलो चरण सन् २०१३ बाट सुरु भई २०१७ मार्चसम्म सञ्चालन भएको थियो । अब दोस्रो चरणको कार्यक्रम सन् २०२१ मार्च ३१ सम्म चल्ने घिमिरेले बताउनुभयो । उहाँका अनुसार ती कार्यक्रम यसअघि मध्यनेपाल नगरपालिकाको करापुकल्याण आधारभूत विद्यालय, सुन्दरबजार नगरपालिकाका सरस्वती सदन मावि ठूलोस्वाँरा, महेन्द्र मन्दिर मावि परेवाडाँडा र भारतीसदन मावि बलिथुममा सञ्चालित थियो । यसैगरी, दोर्दी गाउँपालिकाका सूर्योदय मावि भार्ते, लक्ष्मीनारायण मावि अर्चलबोट र बराह मिलन मावि हिलेटक्सार तथा बेसीशहर नगरपालिकाका जनकल्याण मावि चिति र जनजागृति मावि बाँझाखेत र क्ब्लोहासोथार गाउँपालिकाको जनज्योति माविका साथै मस्र्याङ्दी गाउँपालिकाको अमर मावि खुदी र महेन्द्रदेव मावि तराँचे रहेको घिमिरेले जानकारी दिनु भयो ।

उक्त कार्यक्रमको उद्देश्य सिमान्तकृत किशोरीहरुलाई आधारभुतबाट माध्यामिक शिक्षा र माध्यामिकबाट उच्चमाध्यामिक शिक्षामा स्थानान्तरण, दिगो जिविकोपार्जन वा शिक्षाको निरन्तरतालाई सवलिकरण गर्नु रहेको बताइएको छ ।