समानुपातिकमा पनि एमाले पहिलो



धन बस्नेत, पोखरा ।
कास्कीको तीन वटै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना सकिदाँ प्रतिनिधि सभा समानुपातिकमा लिवरल डेमोक्रेटिक पार्टीले जिल्लाभर १ भोट पनि ल्याएन । १७ दलले १० मत भन्दा कम ल्याएका छन् । नेपाल सुकुम्वासी पार्टी, देशभक्त समाज र नेपाल संघीय समाजवादी पार्टीले १/१ भोट ल्याए । देशभक्त लोकतान्त्रिक पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल समाबेशी पार्टी र नेपाल दर्शनले २/२ भोट पाए ।

जनप्रजातान्त्रिक पार्टी ३, नेकपा माक्र्सवादी र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ४/४, नेपाः राष्ट्रिय पार्टी ५, नेपाल जनवादी पार्टी ६, राष्ट्रिय समाजवादी पार्टी ७, नेपाल युवा किसान पार्टी र युवा नेपाल पार्टी ८/८, हाम्रो पार्टी ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १० मत ल्याएका छन् । अरु दलले १० भोट कटाएका छन् । जिल्लाभर समानुपातिकमा ४९ दल थिए भने प्रदेशमा २० दल सहभागी थिए । कास्कीमा १ लाख ८० हजार ५ सय ७३ मत खसेको थियो ।

कास्कीमा एमाले पहिलो

कास्कीमा समानुपातिकतर्फको मतमा पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा तर्फ ८२ हजार ६ सय ४८ मत एमाले पाएको छ । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ५९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय ८९ मत छ । तेश्रो बनेको नेकपा माओवादी केन्द्रको निकै कम मत छ । माओवादी केन्द्रले १३ हजार ८ सय ८१ मत मात्रै पायो ।
कास्कीबाट विवकेशील साझा पार्टी चौंथो भयो भने राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ति नेपाल क्रमशः पाचौं, छैठौं र सातौं भएका छन् । विवकेशीलले ७ हजार ३ सय २७, राप्रपाले ३ हजार ३ सय ३, संघीय फोरमले १ हजार ३ सय ८७ र नयाँ शक्तिले १ हजार १ सय ६३ मत पाए ।

प्रदेशसभा तर्फ पनि नेकपा एमाले नै पहिलो बन्यो । एमालेले ७७ हजार ४ सय ८७ मत पाउँदा काँग्रेसले ५८ हजार १ सय ७२ मत मात्रै समानुपातिकको खातामा देखियो । प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा एमाले र काँग्रेसको मतान्तर कम छ । प्रदेश सभामा १९ हजार ३ सय १५ बढी मत एमालेले पाएको छ ।

प्रदेशसभामा पनि प्रतिनिधिसभा जस्तै माओवादी केन्द्र तेश्रो भयो । माओवादीले १६ हजार ५ सय ४५ मत ल्याएको छ । यो मत प्रतिनिधि सभाको भन्दा २ हजार ६ सय ६४ मत बढी पाएको हो । विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४, राप्रपाले ३ हजार ६ सय १०, संघीय समाजवादी फोरमले १ हजार ८ सय ५१ र नयाँ शक्ति नेपालले १ हजार ५ सय ३६ मत पाए ।

२ लाख ५५ हजार ४ सय ५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधि सभामा दुवैमा समान १ लाख ८० हजार ५ सय ७३ मत खसेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।

बदर मत साना दलले पाएको भन्दा बढी

प्रतिनिधिसभा तर्फ ७ हजार २ सय ६१ मत बदर भएको तथ्यांक क्षेत्रीय निर्वाचन कार्यालय पोखराले दिएको छ । तीन क्षेत्र अन्तर्गतका प्रदेशसभामा ७ हजार २ सय ७१ मत बदर भएको छ । जुन मत ठूला ३ दल बाहेक अरु दलले ल्याएका मत भन्दा बढी हो ।

कास्की शिक्षित जिल्लामा पर्छ । तर मतगणना हेर्दा बदर मत शीर्ष तीन दल बाहेकका दलले पाएको भन्दा बढी छ । शिक्षित भएपनि मतदानमा अशिक्षित देखिएका छन् । नो भोटको अवस्था नहुदाँ र दलहरुप्रतिको वितृष्णाले पनि दुई भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाइएको भेटिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसो त मतदाता शिक्षा समेत प्रभावकारी हुन नसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्