ललितपुर, (नेस)। जिल्लाको तीनवटै क्षेत्रको प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जवलाखेलमा बिहीबार सम्पन्न प्रदेशसभाको अन्तिम मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका ऋषिराम घिमिरेको भन्दा २ हजार ५ सय ९४ बढी मत पाएर वाम गठबन्धनकी उम्मेदवार लालकुमारी पुनले विजयी हासिल गर्नुभयो। उहाँले १३ हजार १ सय ८५ मत ल्याउनुभयो। भने उपविजेता कांग्रेस उम्मेदवार घिमिरेले १० हजार ५ सय ९१ मत पाउनुभएको थियो।
त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ वाम गठबन्धनकै साझा उम्मेदवार चेतनाथ सञ्जेल विजयी बन्नुभयो। उहाँले नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जनलाई पछि पार्दै विजयी बन्नुभएको हो। विजयी बन्नुभएका सञ्जेलले १२ हजार ८ सय ६६ मत पाउनुभएको थियो भने उपविजेता महर्जनले ११ हजार ७ सय ४२ मत पाउनुभएको हो। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशमा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भए। प्रदेशसभा ‘क’ तर्फ वाम गठबन्धनका उम्मेदवार माधवप्रसाद पौडेल १४ हजार ५ सय ३४ मत ल्याएर विजयी बन्नुभयो। उहाँको प्रतिद्वन्द्वी पवनविक्रम थापाले भने ८ हजार १ सय ४५ मत ल्याएर उपविजेता बन्नुभयो। क्षेत्र नम्बर २ कै प्रदेशसभा ‘ख’ तर्फ वाम गठबन्धनका उम्मेदवार ज्ञानेन्द्र शाक्यले १२ हजार ६३ मत पाएर विजयी बन्नुभयो। भने नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ९ हजार ४ सय २० मत ल्याउनुभएको थियो।
जिल्लाको क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ तर्फ पनि वाम गठबन्धनका उम्मेदवार राजकाजी महर्जनले १४ हजार ६ सय २६ मत ल्याएर विजयी बन्नुभयो। भने उपविजेता कांग्रेसका नवराज महतले १० हजार १ सय ८५ मत ल्याउनुभयो। प्रदेशसभा ‘ख’ तर्फ वाम गठबन्धनका उम्मेदवार जीवन खड्काले ११ हजार ७ सय १ मत ल्याएर विजयी घोषित हुनुभयो भने उहाँको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शिवराम बानियाँले ८ हजार ६ सय ९३ मत प्राप्त गर्नुभयो।
प्रतिक्रिया