गोरखामा बाबुरामको ह्याट्रिक

0
Shares

सन्तोष अधिकारी, गोरखा
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन। भट्टराईले ६० हजार १ सय ९ मतमा ३१ हजार ८ सय ७ मत ल्याएर वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई हराएका हुन्। निकै चर्चामा रहेको गोरखा क्षेत्र नं. २ मा अन्ततः डा. भट्टराईले नै चुनाबी पासा पल्टाए। उनका निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९ सय ३३ मात्र मत ल्याए। बाबुरामले श्रेष्ठभन्दा ६ हजार ८ सय ७४ मत बढी ल्याए।

श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार थिए भने भट्टराई नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतको लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार थिए। भट्टराई यसअघि गोरखा क्षेत्र नं. २ बाट नै २०६४ सालमा अत्यधिक मतका साथ संविधानसभा निर्वाचनमा विजयी भएका थिए। त्यस्तै २०७० को दोस्रो संविधान सभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित भएका थिए।

क्षेत्र १ को “क” मा माओवादीका थापा विजयी
गोरखा सदरमुकामसमेत रहेको गोरखा क्षेत्र नं. १ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका नेता लेखबहादुर थापा मगर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका धिरन थापालाई २५ सय ३९ मतले हराएका हुन्। मगरले १६ हजार ५ सय ५८ मत ल्याए भने थापाले १४ हजार १९ मात्र मत ल्याए।

क्षेत्र १ को “ख” मा एमालेका बस्नेत विजयी
गोरखा क्षेत्र नं १ को प्रदेश ‘ख’ मा नेकपा एमालेका रामशरण बस्नेत विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंलाई हराएका हुन्। बस्नेतले १६ हजार ६ सय ५६ मत ल्याए भने बजगाईंले १३ हजार १ मात्र मत ल्याए।

गोरखा २ “क” मा नयाँ शक्तिका आचार्य विजयी
गोरखा क्षेत्र नं २ प्रदेश ‘क’ मा नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नेतृ कमला नहर्कीलाई ३ हजार २ सय ७८ मतले हराएका हुन्। आचार्यले १५ हजार ३ सय ४५ मत ल्याए भने नहर्कीले १२ हजार ६५ मत मात्र ल्याइन्।

गोरखा २ “ख” मा कांग्रेसका दवाडी विजयी
गोरखा क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका प्रकाशचन्द्र दवाडी विजयी भएका छन्। उनले पूर्व सभासद्समेत रहेका अमरबहादुर गुरुङलाई पछि पार्दै विजयी भएका हुन्। उनले १५ हजार ८ सय ५३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी तमुले १३ हजार ४ सय ११ मत मात्र ल्याए।