सबैभन्दा महँगो कलाकृतिका खरिदकर्ता साउदी राजकुमार


न्युयोर्क, (एजेन्सी)
लियानार्डो दा भिन्चीको चर्चित पेन्टिङ ‘साल्भाटोर मुन्डी’का अज्ञात खरिदकर्ता साउदी अरेबियाका एक राजकुमार भएको खुलासा भएको छ। राजकुमारले गत महिना न्युयोर्कमा भएको लिलाममा उक्त पेन्टिङ कीर्तिमान कायम गर्दै ४५ करोड ३ लाख अमेरिकी डलरमा किनेका थिए।

उक्त पेन्टिङ किन्ने साउदी राजकुमार बदर बिन अब्दुल्ला बिन मोहम्मद बिन फरहान अल साउद भएको द न्युयोर्क टाइम्सले जनाएको छ। यसु ख्रिष्टको चित्रण गरिएको उक्त पेन्टिङ अहिलेसम्म सर्वाधिक मूल्य तिरिएको चित्र बनेको छ। लिलामी हाउस क्रिस्टीले निजी संकलनमा रहेको यो एक मात्र दा भिन्चीको कलाकृति भएको बताएको थियो।

राजकुमार बदर शाही परिवारको टाढाको नातामा पर्ने व्यक्ति भएको र उनी ऐतिहासिक तथा प्रमुख कलाकृति संकलकका रूपमा चिनिएको टाइम्सले जनाएको छ। उनको अथाह सम्पत्तिको कुनै पनि सार्वजनिक ज्ञात स्रोत नभएको पनि पत्रिकाले उल्लेख गरेको छ।

राजकुमार बदर देशका ३२ वर्षीय युवराज मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउदका मित्र तथा सहयोगी हुन्। क्रिस्टीका प्रवक्ताले कुनै पनि खरिदकर्ताको पहिचान उनको अनुमतिबिना सार्वजनिक नगर्ने बताएका थिए। राजकुमार बदरले उक्त समाचारको कुनै प्रतिक्रिया दिएका छैनन्। तर न्युयोर्क टाइम्सले बुधबार प्रतिक्रियाका लागि दबाब दिएपछि अबुधावीमा खुलेका नयाँ कलासंग्रहालय लोवरेले ट्विटमार्फत उक्त पेन्टिङ लोवरे अबुधाबी आइरहेको जानकारी दिएको थियो।