अलैँचीको स्तर निर्धारणसँगै विक्री सुरु

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा अलैँचीको ग्रिणीङ अर्थात गुणस्तर निर्धारणसँगै विक्री सुरु गरिएको छ । जिल्लामा उत्पादित अलैंचीको आकार र गुणस्तरका आधारमा तीन तहमा छुट्याउने गरिएको छ ।

जिल्लाका अलैंची कृषकहरू यतिवेला अलैँचीको स्तर छुट्याउने कार्यमा व्यस्त देखिन्छन् । सबैभन्दा उच्चस्तरको अलैँची “जम्बो जेट” (जेजे), मध्यम खालको (एसडी) र चलनचल्ती गरी तीन तहमा अलैँचीको गुणस्तर कायम गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार उच्चस्तरको जम्बो जेट श्रेणीको अलैँची आकारमा ठूलो हुन्छ ।

यतिबेला उच्चस्तरको अलैचीको बजार मूल्य प्रतिकेजी ६८० देखि ७ सय रुपैयासम्म रहेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनु भयो । उहाँका अनुसार दोस्रो तहको मध्यम आकरको अलैंचीकको मुल्य प्रतिकेजी ६५० देखि ६७० रुपैयासम्म पर्ने गर्दछ । त्यसैगरी, तेस्रो तहको सामन्य चलनचल्तीको अलैंचीको मुल्य प्रतिकेजी ६ सय रुपैया रहेको तामाङको भनाई छ ।

गतवर्षको तुलनामा यसवर्ष अलैंचीको मुल्यमा भारी गिरावट आएको छ । अघिल्लो वर्षहरुमा “जम्बो जेटको” मुल्य प्रतिकेजी १ हजार एक सयदेखि १ हजार ४ सय रुपैयाँसम्ममा विक्री भएको थियो । मध्यम अलैंचीको मुल्य प्रतिकेजी १ हजार १ सयदेखि १ हजार ३ सय रुपैयाँसम्म र सामन्य चलनचल्तीको अलैंचीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँदेखि १ हजार दुई सयरुपैयासम्म विक्री भएको तामाङले जानकारी दिनुभयो ।

दुई वर्षयता अन्तराष्ट्रिय बजारमा अलैंचीको मुल्यमा उच्च गिरावट आएको छ । भारतमा अलैंची उत्पादनमा अस्वाभाविक वृद्धि र न्युन गुणस्तरको अलैंची मिसावट रहेकाले मुल्यमा गिरावट आएको नेपाल अलैँची व्यावसायी महासंघ लमजुङका अध्यक्ष तामाङले बताउनु भयो । उहाँका अनुसार अन्र्तराष्ट्रिय बजारमा आफ्नो पहिचान कायम गर्नका लागि गुणस्तर निर्धारणको प्रयासमा छौँ ।

अलैंचीको गुणस्तर कायम राख्नका लागि संघले अलैँची किसानहरूलाई सुधारिएको अलैंची भट्टीमा अलैंची सकाएर पुच्छर कैँचीले काट्ने संघल तालिम समेत दिएको तामाङले बताउनु हुन्छ । जिल्लामा उत्पादीत अलैंची झापाको विर्तामोड हुँदै भारत जान्छ र भारतबाट अन्र्तररराष्ट्रिय बजारमा पुग्ने गरेको छ ।

यसवर्ष दोर्दी गाउँपालिका– ८ स्थित खिन्चोक गाउँका किसान मनबहादुर तामाङले आठ क्विन्टल उत्पादन गर्नु भएको छ । उहाँ जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने किसानका रूपमा गणना हुनुभएको जिल्ला कृषि किवास कार्यालयले जनाएको छ ।