नेपालमा श्रीलंकाली ‘ओक्ची’को प्रभाव


टीका बन्धन, काठमाडौं
श्रीलंकामा विकास भएको ‘ओक्ची’ नामक आँधीको प्रत्यक्ष प्रभाव नेपालका उच्च पहाडी र हिमाली क्षेत्रसम्म पनि फैलिएको छ। त्यसैको प्रभावले मध्यपश्चिम र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भेगमा हिमपातको सम्भावना बढाएको छ।

सोमबार साँझदेखि भित्रिएको यस्तो प्रभाव अझै केही दिन जारी रहने भएकाले मुलुकको मध्यभेगसम्म प्रत्यक्षरूपमा चिसो फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हल्का वर्षासहितको हिमपातले प्रत्यक्ष⁄अप्रत्यक्ष रूपमा जनजीवन प्रभावित बनाउन सक्ने ध्यानाकर्षण गराउँदै महाशाखाले सोमबार विशेष बुलेटिनसमेत जारी गरेको छ।

‘यसको प्रत्यक्ष असर हिमाली पर्वतारोहरणमा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो– ‘मध्यमस्तरको हिमपातले पदयात्री र आरोहीलाई अवरोध पुर्याउन सक्छ।’ गत बिहीबार दक्षिणपूर्वी अरब सागरमा विकास भएको विनाशकारी ओक्ची आँधीको प्रत्यक्ष प्रभाव श्रीलंकामा परेको थियो भने भारतका तमिलनाडु र केरलासम्म पनि फैलिएको थियो।

सोही आँधीका कारण भारतमा र श्रीलंकामा करिब २ दर्जन व्यक्तिको निधन भएको र ती क्षेत्र र आसपासबाट साढे ३ सयभन्दा बढी माझीको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार अपराह्नसम्ममा ओक्चीको प्रभाव तमिलनाडु र केरलासहित भारतका महाराष्ट्र, गुजरात, मुम्बई, सुरत, अहमदावादसम्म फैलिएर हिउँदे वर्षा गराउने प्रणाली विकास भएको छ।

भोलि बुधबार मुलुकका पूर्वी भेगका हिमाली क्षेत्रमा समेत हल्का हिमपात हुने र पश्चिमी भेगमा वर्षा हुने मौसमविद्को ठहर छ।

सामान्य अवस्थामा पनि भारतको उत्तर–पश्चिमी क्षेत्र काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतारचढाव आउने गर्छ। अहिले मध्यपश्चिम भारतसम्म प्रत्यक्ष⁄अप्रत्यक्ष प्रभाव देखाएको ओक्चीको असर नेपालमा समेत परेको मौसमविद् अर्यालले बताउनुभयो। हिउँदको समयमा भारतीय भूमि हुँदै भित्रिने वायुको मुस्लो ‘जेटस्ट्रिम’ले समेत चिसो बढाउने सम्भावना उत्तिकै रहेको उहाँले जानकारी दिनुभयो।

सामान्यतया जेटस्ट्रिम पृथ्वीको सतहभन्दा १४⁄१५ किलोमिटर माथिको उचाइबाट बहन्छ र नेपाली आकाश हुँदै तिब्बततर्फ फैलिने गर्छ। औसत उचाइबाट जेटस्ट्रिम तिब्बततर्फ फैलिए पनि त्यसको असर नेपालमा पर्न सक्ने प्रस्टइउँदै अर्यालले भन्नुभयो– ‘कहिलेकाहीं हिमालय शृंखलालाई छोएरसमेत त्यस्तो वायु फैलिन्छ, त्यस्तो भयो भने चिसो एक्कासि  बढ्ने गर्छ।’