बगाले थापा क्षेत्रीका आदिपुरुष कालु थापाको शालिक स्थापित

154
Shares

 

बागलुङ  । बगाले थापा क्षेत्रीका आदिपुरुष कालु थापाको गलकोट नगरपालिका–७ मल्मस्थित ७०० बगाले थापा कूल मन्दिर परिसरमा अर्धकदको शालिक राखिएको छ ।
थापाको कूल पूजाका अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले शालिकको अनावरण गर्नुभयो । बगाले थापा क्षेत्रीका मूलपुरुष कालुको सम्मानमा शालिक राखिएको मन्दिरका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । रु पाँच लाखको लागतमा शिला (ढुङ्गा)बाट निर्मित कालुको शालिक देशकै पहिलो हो । बगाले थापा बन्धुबाट सहयोग जुटाएर शालिक निर्माण गरिएको मन्दिरका अध्यक्ष दलबहादुरको भनाइ छ । विसं १२०० मा तत्कालीन डोटी राज्यको राजा हुँदै सिञ्जा राज्यको राजा बन्नुभएका कालु बगाले थापा क्षेत्रीका कूलपुरुष मानिनुहुन्छ ।

“हाम्रो बगाले थापाको प्रथम कूल पुरुष कालु थापा हुनुहुन्छ, अमरसिंह थापा, भीमसेन थापा पनि उहाँकै सन्तान हुनुहुन्छ”, अध्यक्ष दलबहादुरले भन्नुभयो । मन्दिरका पूर्वअध्यक्ष दुर्गबहादुर थापाले आफ्नो कूल, वंशजको पहिचानका लागि पनि शालिक बनाउन आवश्यक ठानेर शालिक बनाइएको बताउनुभयो ।

कालु शुभकन्या थापाका सुपुत्र हुनुहुन्थ्यो । उहाँका माहिला छोराले तारापति पछि म्याग्दी जिल्लाको ताकममा आएर राज्य सञ्चालन गरेको इतिहास छ । सिञ्जा क्षेत्रबाट ताकम हुँदै देशका विभिन्न भागमा बगाले थापा क्षेत्री छरिएर बसोबास गर्न थालेको इतिहासमा उल्लेख छ । गलकोट र मल्मका बगाले थापाले हरेक तीन तीन वर्षमा कूल पूजा सञ्चालन गर्दै आएका छन् ।