सामाजिक भत्ता बुझ्न सदरमुकाम धाउँछन् वृद्धवृद्धा

0
Shares

पर्वत, (नेस)
कुस्मा नगरपालिकाको वडा नं १४ आर्थर डाँडाखर्कमा रहेका वृद्धवृद्धा र एकल महिलालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नदिएको भन्दै जनप्रतिनिधिले विरोध गरेका छन्।

संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कारण देखाउँदै सामाजिक सुरक्षाभत्ता वितरण गर्न प्रशासनले अवरोध गरेको भन्दै जनप्रतिनिधिले विरोध जनाएका हुन्। गाउँमै सामाजिक सुरक्षाभत्ता वितरण हुन नदिएपछि वृद्धवृद्धा पैदल सदरमुकाम आउन बाध्य भएका छन्।

वडाका जनप्रतिनिधिले शुक्रबार गाउँमै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने कार्यक्रम बनाएका थिए। त्यसका लागि गरिमा बैंककै पहलमा १३ लाख २८ हजार कुस्मामै सहकारीबाट ऋण सापटी रकमसमेत खोजिएको थियो तर आर्थर हिँड्ने तयारीमा रहेको गरिमा विकास बैंकका कर्मचारीलाई अप्रत्यक्षरूपमा धम्की दिएर रोक्ने काम गरेको आरोप वडा अध्यक्ष भीमप्रसाद गुरुङले लगाए। बैंकका कर्मचारीलाई भत्ता बाँड्न गएमा त्यसको सुरक्षा नहुने र बाँड्न गएमा नराम्रो हुने धम्कीपछि टोली रोकिएको छ। ‘पैसा र गाडी तयार खोजेपछि कतैबाट बैंकका कर्मचारीलाई गाउँमा रकम लिएर नजान धम्की दिएपछि वितरण रोकिएको छ’ –अध्यक्ष गुरुङले भने। सहकारीबाट सापटी खोजेको रकमसमेत सहकारीकै खातामा साँझ ७ बजे जम्मा गरिएको छ।

जनप्रतिनिधिले गाउँमा बस्ने २ सय २४ जना वृद्धवृद्धा र एकल महिलाको पासबुक र चेक जम्मा गरेका छन्। वडाबाहिर पोखरा, काठमाडौं बस्ने वृद्धवृद्धा र एकल महिलाहरूले भने बैंकबाट नै रकम बुझ्ने गरी खातामा पठाइएको छ।