टंकेश्वर–डल्लु सडक अलपत्र, सबै निकाय जिम्मेवारीबाट पन्छिए

0
Shares

प्रशान्त वली, काठमाडौं
कालीमाटी सालिकबाट टंंकेश्वर हुँदै डल्लु जाने सडकखण्ड निर्माणका लागि जिम्मेवार निकाय पन्छिदा निर्माण कार्य अलपत्र भएको छ। जसका कारण यात्रुलाई आवतजावतमा समस्या हुने गरेको छ भने सवारी आवागमनमा समेत कठिनाइ हुने गरेको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सो सडकखण्ड विस्तार र निर्माणका लागि सडक नाप्ने काम भए पनि स्थानीयको अवरोधका कारण निर्माण कार्य रोकिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो।

सडक विभागले भित्री सडक निर्माणको कतै जिम्मा नलिएको बताएको छ। विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार ३ अर्ब रुपियाँ बढी बजेट सडक पूर्वाधार शीर्षकमा अर्थ मन्त्रालयले स्थानीय तहमा पठाइसकेको छ।

विभागका प्रवक्ता गौतमले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले मुख्य र राजमार्गका सडक निर्माण गर्छौं। यद्यपि भित्री सडकको निर्माण गर्ने जिम्मा नयाँ संरचनाअनुसार स्थानीय तहको हो।’

यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमती पुल किनार क्षेत्रमा रहेका सडकको निर्माण र मर्मत कार्य आफ्नो जिम्मामा रहेको बताएको छ। समितिका वरिष्ठ डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले भन्नुभयो– ‘स्थानीयको मागअनुसार मापदण्डभित्र रहेर सडक निर्माण गर्न तयार छौं, टेकु पुलदेखि पेट्रोल पम्पपछाडिको सडक मर्मतका लागि स्थानीय कसैले माग गर्नुभएको छैन। कालीमाटी–टंकेश्वर हुँदै डल्लु जाने सडकखण्ड निर्माणका विषयमा सडक विभाग नै जिम्मेवार हुनुपर्छ।’

यस्तै मेयर शाक्यले काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति दिए महानगरपालिका सडक पिच गर्न तयार रहेको बताउनुभयो। मेयर शाक्यले भन्नुभयो– ‘महानगरपालिका सदैव समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ। यद्यपि महानगरपालिकालाई काम गरेन भनेर दोष मात्रै थुपार्ने काम भइरहेको छ।’

टंकेश्वरमा पुस्तक पसल गर्दै आउनुभएकी अनिता अधिकारीले भन्नुभयो– ‘सडक मर्मत गर्ने भनेरै पहिलैदेखि कुरा चल्यो। तर, अहिलेसम्म केही उपलब्धि हुन सकेको छैन। मंसिर २१ गते चुनावअघि मर्मत गर्ने भन्ने त सुनेको थिएँ। बरु ताहाचलतिरको सडक पिच भइसक्यो। यहाँको अत्तोपत्तो छैन। वर्षामा त हिलाम्मे हुन्छ यो सडक।’