वाम गठबन्धनभित्र भोटको शंका

0
Shares

काठमाडौं, (नेस) ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन बनाएर निर्वाचनमा जुटेका छन्। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते सम्पन्न भएको छ। मंसिर २१ गते हुने निर्वाचनको तयारीमा वाम गठबन्धनका शीर्ष नेताहरू चुनावी दौडधुपमा लागेका छन्।

तर पहिलो चरणमा सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शकाउपशंका उब्जिएको छ। एउटै पार्टी निर्माण गर्ने सहमतिअनुसार निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिबद्धता नेताहरूले व्यक्त पनि निर्वाचनसम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरूको आशंका हटेको छैन।

दुवै दलले निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन्। तर पार्टीभित्रै हतारमा पार्टी एकता गर्न नहुने पक्षमा पनि नेताहरू देखिएका छन्। पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मतपरिणामको प्रतीक्षामा उम्मेदवार र नेता कार्यकर्ता बसेका छन्। वाम गठबन्धनसँगै कांग्रेसले पनि प्रारम्भिक मतको अवस्थाको आँकडा निकालेको छ।

पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लामा वाम गठबन्धनमा आबद्ध दल एमाले र माओवादी केन्द्रभित्र नै एक दलका कार्यकर्ताले अर्को दलका उम्मेदवारलाई मतदान नगरेको भन्दै वाम गठबन्धनको विवाद शुरू भएको छ। चुनावी तालमेत गरेपछि प्रतिनिधिसभा र प्रदेशसभामा उठ्ने दलका उम्मेदवारका लागि मात्र मतपत्रमा चुनाव चि≈न रहँदा एमाले र माओवादी केन्द्रका कार्यकर्ता भोट हाल्न बाँध्य छन्।

वाम गठबन्धनमा आबद्ध माओवादी केन्द्रका एक नेताले भने– ‘दुवै पार्टी एउटै हुने सन्देशसहित हामी निर्वाचनको अभियानमा छौं तर कतिपय जिल्लाहरूमा माओवादी केन्द्रलाई मतदात गर्नुको सट्टा कांग्रेसलाई फाइदा पुग्ने गरी मतपत्र खाली राखेर पठाइएको सूचनाले सशंकित छौं।’

निर्वाचनको क्रममा दुवै दलले दुवै दलका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे पनि मतदानको दिन विपक्षी दलको प्रभाव र विगतका द्वन्द्वकालीन घटनाको कारणले गर्दा पनि एमालेका कार्यकर्ताहरूले मतपत्र खाली राखेको बताइएको छ।