‘वामपन्थीलाई रोजे अधिनायकवाद आउने’

0
Shares

फिरोज सिद्दिकी, सिरहा
प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले वामपन्थीहरूलाई बहुमत दिए फेरि नेपालमा तानाशाह र अधिनायकवाद आउने बताउनुभएको छ।

बिहीबार सिराहाको भगवानपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रूपमा हिँडडुलसमेत गर्न नपाउने आरोप लगाउनुभयो।

मधसी जनताको माग नेपाली कांग्रेसको सरकारले फेरि संशोधन विधेयक ल्याएर सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री देउवाले मधेसको शत्रू रहेको एमाले अहिले सत्ता स्वार्थका लागि बनेको वाम गठबन्धनले सरकार बनाउने सपना पूरा नहुने भन्दै मधेसी जनता मधेसवादीभन्दा कांग्रेसलाई पत्याएकाले २ नम्बर प्रदेशमा कांग्रेस ठूलो पार्टी हुने ठोकुवा गर्नुभयो।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका वरिष्ठ तथा बौद्धिक नेता प्रदिप गिरीलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुहुँदै यस क्षेत्रमा ठूलो उद्योग स्थापना, बलान नदीमा तटबन्ध, ठाडी–लहान सडक निर्माण, कृषि विश्वविद्यालयलगायत विकासका काम एक वर्षभित्र शुरु हुने विश्वास दिलाउँदै अब बन्ने सरकारमा प्रदिप गिरीले महत्त्पूर्ण मन्त्रालय पाउने घोषणासमेत गर्नुभयो।

सिरहा १ को प्रतिनिधिसभा उम्मेदवार प्रदिप गिरीले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यवसायिक कृषि र उद्योग जिल्लाको समृद्धिका आधारहरू भएको बताउनुभयो।

विश्वकै उद्योगपति विनोद चौधरीलाई देखाउँदै गिरीले सिरहाको दक्षिणी भेगमा उद्योगस्थापना गर्न उहाँलाई साथमै लिएरै आएको विश्वास दिलाँउदै यस भेगमा वीरगन्ज बिराटनगरजस्तै ठूला कलकारखाना खोल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सभामा नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, कोषध्यक्ष सीतादेवी यादव, निर्वाचन परिचालन कमिटिको संयोजक बालकृष्ण खाँड, सिराहा ४ का उम्मेदवार मो मुक्तार, सिराहा २ का उम्मेदवार रामचन्द्र यादव, सिरहा ३ का उम्मेदवार अमर रेग्मीलगायतका वक्ताहरूले नेपाली कांग्रेसले गरिबी, बेरोजगारी र अभाव अन्त्य गरी मुलुकलाई स्वावलम्बन बनाउन चाहेकाले लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो।