सुरक्षा थ्रेट बढेपछि आयोग चिन्तित


सुनील महर्जन, काठमाडौं
निर्वाचन नजिकिँदै गर्दा मतदातालाई आतंकित पार्न बम विस्फोटनका घटना नरोकिएको भन्दै निर्वाचन आयोगले सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौती बढेको भन्दै आयोगले बिहीबार पनि सरकारको ध्यानाकर्षण गराएको हो। सुरक्षा व्यवस्थालाई लिएर आयोगले सरकार र उच्चस्तरीय सुरक्षा समितिसँग नियमित छलफल गर्र्दै आएको छ।

आयोगले मंसिर २१ गते हुने दोस्रो चरणमा फरक खालको चुनौतीको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। पहिलो चरणको तुलनामा दोस्रो चरणका रूपमा सुगम क्षेत्रमा निर्वाचन हुने भए पनि चुनौती बेग्लै प्रकारको हुने आयोगको विश्लेषण रहेको छ।

‘मंसिर २१ मा हुने निर्वाचनमा आम मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माण गराउनु आवश्यक छ। थप सुरक्षा गतिशीलता बढाउन पनि उत्तिकै आवश्यक रहेको छ’, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षा महत्त्वपूर्ण रहेको छ।’

खुला सिमानाबाट आपराधिक गिरोह आउनजान सक्ने, राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धा, जातीय र साम्प्रदायिक सद्भाव बिग्रिन सक्नेजस्ता सुरक्षा चुनौती रहेको गृहको विश्लेषण रहेको छ।

दोस्रो चरणको निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’को समूहबाट मात्र सुरक्षा चुनौती नरहेको बताउँदै भारतीय सीमा आसपास सशस्त्र समूह, राजनीतिक दलका भ्रातृ संगठनबीच झडपलगायतलाई पनि सुरक्षा चुनौतीका रूपमा लिइएको छ। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खास गरी भारतसँगको सीमाक्षेत्रमा सुरक्षा चुनौती रहेको बताउँदै त्यसबारे दुवै देशका सुरक्षा निकाय गृहकार्यमा जुटेको आयोगले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा खसेको मतप्रतिशत कम हुनुमा उम्मेदवारमा डरको मनोविज्ञान रहेकोसमेत विश्लेषण गर्दै आयोगले सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै आएको हो।
डा. यादवका अनुसार अपरिचित तथा भूमिगत समूहबाट हुन सक्ने सम्भावित घटनाका विषयमा प्रधानमन्त्री, गृह मन्त्रालय र सुरक्षा समितिको बैठकमा समेत छलफल भइरहेको छ।

निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको आयोगले जनाएको छ। आयुक्त सुधीरकुमार शाहका अनुसार बढ्दो राजनीतिक दलको धुव्रीकरणसँगै राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिने सक्ने आकलन गरेको छ। ‘जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो भई सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ।’ –उहाँले भन्नुभयो। पहिलो चरणको तुलनामा बढी भीड हुने र उम्मेदबारबीच पनि कडा प्रतिस्पर्धा हुने भएकाले सुरक्षा चुनौती थपिने बताइएको छ।

आयोगका अनुसार मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि १ करोड २२ लाख मतदाता रहेको आयोगले जनाएको छ।