शितभण्डारण गरिएको बिऊले आलु उत्पादन बढ्यो

0
Shares

सन्तोष अधिकारी, गोरखा । जिल्लामा आलुको पकेट क्षेत्र मानिने धार्चे गाउँपालिकाको गुम्दाका किसानले अहिले आलुको विऊ शित भण्डारमा राखेको मात्र प्रयोग गर्छन् । दुई वर्ष यता शित भण्डारमा भण्डारण गरेको विऊ प्रयोग गर्न थालेका किसानले आलुको उत्पादन बढ्न थालेको बताएका छन् । जिल्ला कृषि बिकास कार्यालय गोरखाको आर्थिक सहयोग र स्थानीय किसानहरुको श्रमदानमा निर्माण भएको आलु भण्डारण भवन भूकम्पले भत्काएपछि केयर नेपालको सहयोगमा स्वाँरासघन गाउँ विकास केन्द्रले पुननिर्माण गरिदिएको छ ।
‘आलु पहिले फलेको भन्दा बढी नै फल्न थालेको छ’ बीरबहादुर गुरुङ्गले भने ‘भण्डारणा राख्दा बीउ राखेको आलु राम्रो बस्ने, आँकुराहरु नमर्ने हुने रहेछ त्यै भएर पनि राम्रो फल्यो । चिसो ठाउँमा फलेको आलुको माग बढ्दो छ ।’ गुम्दा, लाप्राक, वारपाक, लापु लगायतका उत्तरी गाउँमा उत्पादन भएको आलु आरुघाटबजार, गोरखाबजार लगायतका ठाउँमा समेत बर्षेनी निर्यात हुँदै आएको छ । गुम्दा, लाप्राक लगायतका ठाउँका किसानले बारीमा ब्यबसायिक रुपमा आलु खेति गर्दै आएका छन् । आलु उत्पादनको पकेट क्षेत्र भएकाले गुम्दामा आलु भण्डारण भबन निर्माण गरी सञ्चालनमा ल्याएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । पहिलो पटक भण्डारण बनाउँदा कृषि विकास कार्यालयले भबन निर्माणका लागि नगद रु. २ लाख ५० हजार लगानी गरेको जनाएको छ । बाँकी रकम जनश्रमदान स्थानीय बासिन्दाहरुले गरेका छन् । भण्डारण केन्द्रमा २० टन सम्म आलु राख्न मिल्छ । ‘भण्डारण गरिराखेको आलु सिजनको बेला बीऊका लागि स्रोत केन्द्रहरुमा पठाउने व्यबस्था मिलाएका छौ’ गुरुङ्गले भने ‘आलुको बीऊ कुहिने समस्याबाट अब किसानले मुक्ति पाउनेछन् ।’ एक सिजनमा उत्पादन भएको आलु अर्को सिजनमा बीऊको रुपमा प्रयोग गर्नका लागि भण्डारण भवन उपयोगी हुने उनको बिश्वास छ । बारपाक हुँदै लाप्राकबाट गुम्दामा हालै सडक सुबिधा पुगेको छ । भण्डारणबाट आलुको बीऊ मागअनुसार अन्यत्र पनि निर्यात गर्न सकिने किसानहरुको बिश्वास छ ।
जिल्लाभर दुई हजार पाँच सय १६ हेक्टर क्षेत्रफलमा आलु खेति हुने कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गतबर्ष गोरखामा २५ हजार चार सय ३३ मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लाको दरौंदी, भुसुण्डे, सिर्दि, लुदी, बुढीगण्डकी, मस्याङ्र्गी, छेवेटार, चेपे करिडोर, चोरकाटे लगायतका फाँट, टारहरुमा प्रशस्त आलु खेति हुन्छ ।