‘सुर्खेतमा बाटो र बिजुलीकै चुनावी आश्वासन’

0
Shares

शेरबहादुर थापा, सुर्खेत । जबजब चुनाव आउँछ, अन्यत्र जस्तै सुर्खेतको पश्चिमी क्षेत्रमा उम्मेदवार पुग्छन, बाटो र विजुली ल्याउँछु भन्छन् । त्यही आशमा विगत १० वर्ष कांग्रेस त एकपटक माओवादीलाई भोट दिएर चुनाव जिताए तर अवस्था ज्यूँ का त्यूँ नै रह्यो ।
सुर्खेतको वीरेन्द्रनगरका १४ ओटा वडा सहित पश्चिम फैलिएको यो क्षेत्रमा अहिलेसम्म विजुली पुगेको छैन । वाँगेंशिमलबाट बड्डिचौरसम्म विजुलीको पोल गाडेको १ दशक दशक बितिसके पनि अझैसम्म विद्युत् सेवा पुग्न सकेको छैन ।
०४८ सालदेखि उम्मेदवारहरुले सडक र बिजुलीलाई चुनावी एजेन्डा बनाएर भोट माग्दै आएका छन् । पश्चिम सुर्खेतवासीले ०४८ सालमा कांग्रेसका नेता शीवराज जोशीलाई विजय गराएर पठाए । लगत्तै भएको अन्तरिम चुनाव २०५१ मा पनि त्यसक्षेत्रका जनताले शिवराज जोशीलाई नै विकास पाउने आशा सहित जिताएर पठाए । त्यसपछि २०५६ मा भएको निर्वाचनमा समेत जनताले जोशीलाई नै ह्याट्रिक गर्ने अवसर दिए । उनी यातायात मन्त्री समेत भएका बेला सडकको सुधारसम्म गर्न सकेनन् ।
तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने तत्कालिन माओवादी केन्द्रका नेता नरबहादुर विष्टलाई जिताए । फेरि २०७० मा तप्त व.विष्टलाई विजय गराए तर समस्या ज्यूँ का त्यूँ छन् ।
२०४८ सालयता कांग्रेसले ४ तथा माओवादीले एक पटक चुनाव जित्यो । यो क्षेत्रबाट चुनाव जितेका काँग्रेस शीवराज जोशी, र तप्तबहादुर विष्ट मन्त्री समेत भए । तर, सडक र बिजुलीको माग पुरा भएको छैन ।
हँदा हुँदा अहिलेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले विद्युतीकरण र सडकलाई मुख्य एजेण्डा बनाएका छन् । उक्त क्षेत्रमा वीरेन्द्रनगरका १४ वडा सहित, पञ्चपुरी नगरपालिका, बराहताल गाँउपालिका र चौकुने गाउँपालिका पर्दछन् ।
चौकुने गाउँपालिकाका स्थानीय दत्त थापा नेताहरुले आ्रवासन मात्रै बाँडेकाले यो पटक फरक नेतालाई चुनेर पठाउने सोच रहेको बताउँछन । उनी भन्छन, ‘हामीले आश्वासन धेरै खायौं तर अब त अति नै भयो ।’ उनले २० वर्ष काँग्रेसले संसद जितेर गएपनि सडकको समेत उचित प्रवन्ध मिलाउन नसकेको आरोप लगाए ।
यता, बडिड्चौरमा व्यापार गर्दै आईरहेका रमेश शाही भने विजुली ल्याउने जस्ले विश्वसनीय भरोसा दिलाउँछ उसैलाई भोट दिने बताउँछन् । यो पाली फरक अनुहारलाई पठाउने आफ्नो सोच रहेको उनको भनाई छ ।
यता वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नवराज रावत जनताले आफूलाई जिताएर पठाएको २ वर्षमा विजुली पु¥याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्छन । उनी भन्छन्, ‘हामीले अहिलेसम्म नेतृत्व गर्न पाएका छैनौं, यो पटक जनताले मत दिई विजय गराएमा विकास कसरी हुन्छ सुरुको दुइ वर्षमै देखाईदिन्छौं ।’ उनले सञ्चार र सडकको अवस्था समेत नाजुक भएकाले आफूले निर्वाचित भएको दिनदेखि नै स्थानीय तह र जनतासँग मिलेर विकासको कार्य गर्ने बताए ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व मन्त्री हृदयराम थानी पनि आफूले विगतमा धेरैविकासे कामहरु गरेको दाबी गर्छन । उनी भन्छन, ‘विगतमा मेरो क्षेत्र वीरेन्द्रनगर नै थियो तर अहिले वीरेन्द्रनगर सहित पश्चिम क्षेत्र परेकाले त्यहाँको विकासका लागि मेरो जीत आवश्यक छ ।’ नेता थानीले विद्युत, सडक, सञ्चार आफ्नो प्राथमिकताको विषय भएको र विकासे कार्यमा आफु अनुभवि समेत भएकाले आफ्नो जीत सुनिश्चित भएको उनको भनाई छ ।