विमान दुर्घटनामा ४ घाइते

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित १ प्रहरी घाइते भएका छन्। सिमकोटबाट सुर्खेतका लागि उडान भरेको तारा एयरको ट्वीनेटर नाइन एएन–एबीएम कल साइनको उक्त विमान दुर्घटनामा परी घाइते भएका निर्वाचनमा खटिएका प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहालको अवस्था भने गम्भीर छ।

दुर्घटना हुनेबित्तिकै जिल्ला अस्पताल हुम्लामा पुर्याइएका दाहाल लाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ। दुर्घटनामा सामान्य घाइते भएका क्याप्टेन वसन्त लामा, अमित गुरुङ, विमान परिचारिका श्रेया श्रेष्ठ, अर्का प्रहरी सहायक निरीक्षक किशोर ऐडी, हस्तबहादुर सिंहलाई तारा एयरको अर्को विमानबाट नेपालगन्ज लगिएको प्रहरी प्रमुख डीएसपी कमलप्रसाद नेपालले जानकारी दिनुभयो।

मंगलबार बिहान ९ बजेर ४३ मिनेटमा सिमकोटदेखि निर्वाचनमा खटिएका सुरक्षाकर्मी बोकेर सुर्खेत उडान भर्ने क्रममा अचानक टायर पन्चर भएपछि विमान दुर्घटना भएको सिमकोट विमानस्थल प्रमुख भीमदत्त पन्तले बताउनुभयो। ४ जान घाइतेमध्ये प्रहरी सहायक निरीक्षक दाहाललाई भने बायाँ निधारमा गहिरो चोट लाग्नुका साथेै कम्मरमा बेल्ट थिचिएर पेटमा चोट लागेको जिल्ला स्वास्थ्य कार्यालयका डा. रञ्जित यादवले बताउनुभयो। डा. यादवले दुवै क्याप्टेनलाई सामान्य चोट लागी नाकबाट रगत बगेको भए पनि गहिरो चोट नभएको र एयर होस्टेज श्रेष्ठको पेटमा चोट भएकाले सामान्य चेकचाँजपछि नेपालगन्जमा रिफर गरिएको बताउनुभयो।

निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी नेपाल प्रहरीका जवान लिएर सुर्खेतका लागि उडेको तारा एयरको विमान उड्ने क्रममा बायाँपट्टिको टायर पन्चर भएर धावनमार्गको दक्षिण ५ मिटर तल रहेको विमानस्थलको घेरबार गरेको तारजालीमा ठोक्किएर विमान दुर्घटना भएको हो। विमान भने क्षतविक्षत भएको छ।

धावनमार्गमा उडान भर्दा बायाँपट्टिको टायर पन्चर भएपछि एक्कासि जहाज अनियन्त्रित भई ब्रेक लगाउँदालगाउँदै पनि नियन्त्रणमा नआई जहाज विनमास्थसँगै जोडिएको तारजालीसहित विद्युत्को पोलमा ठोकिएर बाँच्न सफल भएको तारा एयरका क्याप्टेन वसन्त लामाले बताउनुभयो। दुर्घटनाबाट क्याप्टेन बस्ने जहाजको अगाडि भाग, दायाँ पखेटा र तीनैवटा टायरसमेत पूर्णरूपमा क्षति भएको तारा एयरका सिमकोटका स्टनेसन मेनेजर सरस्वती लामाले बताइन।

दुर्घटनाबारे छानविन गर्न आज बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टिम पठाउने तयारी भएको सिमकोट विमानस्थल प्रमुख पन्थले नेपाल समाचारपत्रलाई बताउनुभयो। जहाज भने नजिकै स्थानीय बासिन्दा ज्याफल लामाको घरमा ठोक्किनबाट जोगिएको छ।