विश्व सम्पदाका धरोहरले पुनर्निर्माणमा तीव्रता पायो


ईश्वरराज ढकाल, काठमाडौं
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रका करिब १ सयभन्दा बढी मठमन्दिर पुनर्निर्माण कार्य शुरू भएका छन्।

तीमध्ये करिब दुई दर्जन मन्दिरको निर्माण सम्पन्न भएको छ। २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त र क्षतिग्रस्त मन्दिर पुनर्निर्माण कार्य सुस्त भइरहेको आरोप लागिरहेका बेला पुरातत्त्व विभाग र दातृ निकायको आर्थिक सहयोगमा पुरातात्त्विक संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार काठमाडौंमा करिब आधा दर्जन निर्माण सम्पन्न भएका र एक दर्जन मन्दिर निर्माण सम्पन्नको चरणमा रहेका छन् भने करिब तीन दर्जन सम्पदा पुनर्निर्माणको प्रतीक्षामा रहेका छन्।

पाटन दरबार क्षेत्रमा आधा दर्जन मन्दिर र स्तम्भ निर्माण सम्पन्न भइसकेका छन् भने एक दर्जनभन्दा बढी निर्माण शुरू भइरहेका छन्। चालु आर्थिक वर्षमा दुई दर्जनभन्दा बढी मठमन्दिर, विहार र अन्य संरचना निर्माणको चरणमा रहेका छन्। भक्तपुरमा आधा दर्जन सम्पदा निर्माण सकिएको, एक दर्जनभन्दा बढी सम्पन्न हुने चरणमा रहेको छ भने दुई दर्जनभन्दा बढी निर्माण प्रक्रियामा रहेका छन्।

हनुमानढोका दरबार विकास समितिका कार्यकारी निर्देशक करुणा नकर्मीले हालसम्म नृत्येश्वरी, तलेजुको माथिल्लो भाग, शिवमन्दिर, पञ्चमुखी हनुमान, कागेश्वरी, सरस्वती मन्दिर निर्माण भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार च्यासी देगः, तलेजु, दश अवतार जैसिदेवल, नौतले दरबार, गद्दी बैठक, जगन्नाथ, गोपीनाथ मन्दिर निर्माण चरणमा रहेका छन्।

चालु आर्थिक वर्षमा थप दुई दर्जनभन्दा बढी सम्पदा निर्माणको प्रक्रियामा रहेका छन्। हनुमानढोका संग्रहालयको नक्साङ्कन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले स्मारक संरक्षण तथा हेरचाह कार्यालय पाटनका प्रमुख काजीमान प्याकुरेलले राज योगनरेन्द्र मल्ल र सिंह स्तम्भ, सुन्दरी चोकको पूर्वी भागलगायत आधा दर्जन सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार चार नारायण, हरिशंकर, कृष्ण मन्दिर, विश्वेश्वर, राधाकृष्ण, कुम्भेश्वर, पिलाछें गणेश, महालक्ष्मी, मन्दिरको सत्तल, बुंगमतीको रातो मच्छिन्द्र, मनोकामना मन्दिरलगायतका सम्पदा पुनर्निर्माणको चरणमा रहेका छन्। यो वर्ष करिब चार दर्जनभन्दा बढी मठमन्दिर निर्माण प्रक्रियामा रहेको उहाँले बताउनुभयो।

त्यस्तै भारत सरकारको सहयोगमा केही विहार र भीमसेन मन्दिर निर्माणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो। काठमाडौंमा अमेरिकन फन्ड, चिनियाँ सरकार, केभिपिटीलगायतले आर्थिक सहयोग गरेका छन् भने पाटनमा केभिपिटी र भारतीय सरकारको आर्थिक सहयोगमा पुरातात्त्विक संरचनाको निर्माण भइरहेका छन्। ठूला परियोजना पुरातत्त्व विभागले सञ्चालन गर्दै आएको छ।

भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका र पुरातत्व विभागको आर्थिक र प्राविधिक सहयोगमा केही सम्पदा पुनर्निर्माण भइरहेका छन्। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, भक्तपुरका प्रमुख मंगला प्रधानले हालसम्म बद्री नारायण, रामेश्वर र नारायण मन्दिर, खौमा ढोकालगायतका आधा दर्जन सम्पदाको पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो।

उहाँकाअनुसार सिद्धिलक्ष्मी, कला संग्रहालय भवन, फसिदेगः, लामो सत्तल, दरबारभित्र रहेको द्धिमादी चोक, वत्सला कोदारनाथ मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

त्यस्तै द्वारीकानाथ र पोखरी संरक्षण गर्ने काम पनि सँगसँगै अघि बढाइएको उहाँले जानकारी दिनुभयो। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पले क्षति पुर्याएका र ध्वस्त भएका देशभरका सम्पदा पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो।