मतपेटिका सदरमुकाम ल्याउनै चुनौती ६ जिल्लाको आउने क्रममा


सुनील महर्जन, काठमाडौं
मतदानस्थलबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याउने कार्य मंगलबार पनि जारी रह्यो। निर्वाचन आयोगका अनुसार मंगलबारसम्ममा २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको छ। बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको छ।

६ ओटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उच्च हिमाली भेग र विकटका मतदानस्थलबाट मतपेटिका ल्याउनुपर्ने भएकाले समय लागेको उहाँको भनाइ थियो।

आयोगले प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ ओटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न अझै तीन दिन लाग्ने बताएको छ। मंगलबार राति र बुधबारसम्म सबै मतपेटिका जिल्ला सदरमुकाममा ल्याइसक्ने बताइएको छ।
‘ढुवानीमा केही जोखिम छन्, तर त्यसमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले सतर्कता अपनाउँदै सदरमुकाममा ल्याउने काम भइरहेको छ।’ –निर्वाचन आयुक्त सुधीरकुमार शाहले भन्नुभयो। पछिल्लो समयमा बढेका सुरक्षा चुनौतीबीच मतपेटिकाको ढुवानी र सुरक्षाबारे आफूहरू सजग रहेको उहाँको भनाइ छ।

‘पैदल ढुवानी गर्ने अवस्था छ भने पैदल नै ओसार्ने व्यवस्था गरिएको छ। यदि बाटो राम्रो छ भने गाडीबाट पनि ढुवानी गर्ने व्यवस्था गरिएको छ।’ –आयुक्त शाहले भन्नुभयो। विकट पहाडी भागमा गाह्रो र समय लाग्ने अवस्था रहेकाले हवाई साधनबाट समेत ढुवानीको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

मतपेटिकाको सुरक्षा र ढुवानीमा समेत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चाहेमा आ–आफ्ना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो। हेलिकोप्टरबाट ढुवानी गर्दा दलका प्रतिनिधिहरू पनि बस्न खोजेपछि समस्या आउने गरेको स्थानमा हिँडाएर ल्याउने गरिएको छ। कतिपय ठाउँमा हेलिकोप्टरबाट मतपेटिका ओसार्न राजनीतिक दलहरूले असहमति जनाएको आयोगले जनाएको छ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कुल २ हजार ९ सय १७ मतदानस्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी ७१ मतदानस्थलका मतपेटिकाहरू सदरमुकाममा संकलन हुने क्रममा छन्।

सदरमुकाममा रहेका र सुरक्षाका दृष्टिले भरपर्दो सरकारी कार्यालयमा मतपत्र सिलबन्दी गरेर राखिएको आयोगले जनाएको छ। मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय गरेको छ।

गृह मन्त्रालयको सहयोगमा जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ। यस्तो गर्दा सुरक्षा दिन सजिलो हुने गृह मन्त्रालयको ठम्याइ छ। जिल्लामा सबैभन्दा सुरक्षित मानिने तथा अग्लो पर्खाल भएको सरकारी भवन, सुरक्षाका दृष्टिले बलियो मानिने सरकारी भवनमा मतपत्र भण्डारण गरिएको पाइएको छ।
मतपेटिका राख्न भरपर्दो भौतिक पूर्वाधार नभएका कतिपय स्थानमा निजी घरहरूसमेत भाडामा लिइएको आयोगले जनाएको छ। प्रतिनिधि सभा र प्रदेशसभातर्फका मतपेटिका सकेसम्म छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइएको छ।

संकलन भएको मतपेटिका राजनीतिक दलहरूको सहभागितामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भवनमा सिल गरेर २४सै घण्टा सुरक्षा प्रदान गरेर राखिनेछ।

मतपेटिकाको पूर्ण रूपमा सुरक्षा गर्नका लागि आवश्यकताअनुसार कम्तीमा सय जना सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार सुरक्षाकर्मीसँगै राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि मतपेटिका भएको स्थानमा राख्ने व्यवस्था मिलाएको पाइएको छ।