नेसनल हेल्थ फाउन्डेसन ठगी प्रकरण – कारबाहीको सिफारिस, उन्मुक्तिको तयारी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
सनल हेल्थ फाउन्डेसनले ८० विद्यार्थीहरूलाई ठगी गरेको पुष्टि भएसँगै गठन गरिएको छानविन कमिटीले कारबाहीको सिफारिस गरे पनि सीटीईभीटीभित्रको एउटा समूहले उन्मुक्ति दिने तयारी शुरू गरेको छ।

विद्यार्थी कोटाभन्दा धेरै भर्ना लिई परीक्षा दिनबाट वञ्चित गराएको, नक्कली प्रवेशपत्र तयार गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र नेसनल हेल्थ फाउन्डेसन र प्रालिका नामबाट फरक–फरक कार्यक्रम तर एउटै मात्र स्विकृत लिएको जस्ता गम्भिर विषयमा सीटीईभीटीको अनुमगन महाशाखासमेत मौन देखिएको छानविनका क्रममा देखिएको संयोजक मिस्टरकान्त मैनालीले बताएका छन्।

‘हामी अनुगमनका क्रममा छौं, धेरै कुरा भन्न मिल्दैन तर नसनल हेल्थ फाउन्डेसन र नेसनल हेल्थ फाउन्डेसन प्रालिका नाममा भएका दुबै काम गैह्रकानुनी देखिएका छन्, हामीले फाउन्डेसन प्रालिका सबै कागजात जफत गरिसकेका छौ’, संयोजक मैनालीले भने– ‘अनुमतिभन्दा धेरै विद्यार्थी भर्ना लिई विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको पुष्टि भएको छ।’ छानविन समितिले ठगी गरेको पुष्टिसहितको प्रतिवेदन सीटीईभीटीलाई बुझाएको छ।

फाउन्डेसनका नाममा संस्थाका सञ्चालक शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले विद्यार्थी ठगी गरेको भन्दै सञ्चालकको तर्फबाट उनीहरूलाई निलम्बन गरिएको नक्कलीपत्रसमेत सञ्चालक तथा सुरज ज्ञवालीका दाजु कृष्ण ज्ञवालीले पत्र पठाएका छन्। झालाई डडेल्धुरामा पनि विद्यार्थी ठगिकै आरोपमा कारबाही गरिएको थियो। उता कारबाही भोगेका झाले सीटीईभीटीभित्र सञ्जाल फैलाउँदै नक्कली धन्दा शुरू गरेका हुन्।

यो कारबाहीबाट बच्न उनले २० लाख रूपियाँ घुस खुवाइसकेका छन्। ‘सीटीईभीटीले कारबाही गर्यो भने पनि अदालतबाट समेत उल्ट्याउछु –झाको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो– ‘अदालतदेखि सीटीईभीटीसम्म सबै मिलाएको छु।’ छानविन समितिमा मैनालीसहित श्रीधर नेपाल र हरि घिमिरे रहेका छन्। समितिका व्यक्तिहरूलाई समेत झाले प्रभावित पार्ने प्रयास नगरेका होइनन्।

यता झा र ज्ञवालीको ठगी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरीको तयारी गरिएको छ। २०५३ सालमा सीएमए⁄अनमीलगायतको क्षेत्रमा काम गर्ने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएको नेसनल हेल्थ फाउन्डेसनको कार्यकारिणी समिति नै नक्कली भएको खुलेको छ।
असोज २८ गते सम्पन्न भएको भनिएको साधारण सभा नै अवैद्य देखिएको छ। नेसनल हेल्थ फाउन्डेसनको सचिव भनिएकी जया ढुंगानाले संस्थाको साधारण सभा र नयाँ समितिका बारेमा अनभिज्ञ रहेको बताइन्।