बंगलादेशको २४ मेडिकल कलेज कालोसूचीमा


ईश्वरराज ढकाल, काठमाडौं
सरकारले बंगलादेशको २१ वटा मेडिकल र डेन्टल कलेजमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न रोक लगाएको छ।

परराष्ट्र र शिक्षा मन्त्रालयको अनुरोधमा नेपाल मेडिकल काउन्सिलले ती कलेजमा भर्नामा रोक लगाएको हो। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेशको मापदण्डअनुसार सञ्चालन नभएका २१ वटा कलेजमा नेपाली विद्यार्थी भर्ना रोक लगाइएको जानकारी दिनुभयो।

यसअघि विभिन्न सञ्चारमाध्यममा बंगलादेशका सम्पूर्ण मेडिकल र डेन्टल कलेजमा भर्ना रोक लगाइएको समाचार प्रकाशित भएका थिए। रजिस्ट्रार शर्माले सबै कलेजमा भर्ना रोक नलगाइएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले जति कलेजको नाम पाएका छौं, त्यतिमा मात्रै रोक लगाएका हौं।’ बंगलादेशस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयलाई जानकारी गराएपछि शिक्षा मन्त्रालय र काउन्सिलले २१ कलेजमा अध्ययन गर्न रोक लगाएको हो। यसअघि काउन्सिलले ३ वटा कलेजमा भर्नाका लागि अनुमति दिएको थिएन। कालोसूचीमा परेका २१ वटा कलेजमा करिब २ सय ५० जना विद्यार्थी अध्ययनरत छन्।

विभिन्न कन्सल्टेन्सीले विद्यार्थीलाई एमबीबीएस, बीडीएस अध्ययनका लागि बंगलादेश पठाउने गरेका छन्। कालोसूचीमा परेका कलेजमा आसियान मेडिकल कलेज, आइची, वसुन्धरा, ब्रह्मनविरिया, युनिर्भसल, केयर, पार्कभ्यु, यूएस बंगला, चटग्राम मेडिकल कलेज रहेका छन्। त्यसै गरी विक्रामपुर भुइयान, मनोअरा सिक्दर, नर्थन इन्टरनेसनल, केयर सहबुद्धिन, अवदिन वसुन्धरा र नर्थन, सिटी, नाइटिङ्गेल, बिजिटिट्रस्ट मेडिकल कलेज र सपहिना डेन्टल कलेज रहेका छन्। यसअघि काउन्सिलले जलालवाद रहिव राविया, युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, गोनोसास्थया समाज भित्तिक मेडिकल कलेजमा भर्ना हुन प्रतिबन्ध लगाएको थियो।

हाल ती कलेजमा अध्ययन गरिरहेका करिब २ सय ५० जना विद्यार्थीको भविष्य के हुने भन्ने विषय अन्योलमा परेको छ। कालोसूचीमा परेका अधिकांश मेडिकल र डेन्टल कलेज ढाकामा सञ्चालित छन्। शैक्षिक परामर्श संघ नेपाल (ई–क्यान) का अध्यक्ष प्रकाश पाण्डेले कालोसूचीमा परे पनि ती कलेजले अध्ययन गरिरहेका विद्यार्थीलाई निरन्तररूपमा अध्ययन गराइरहने बताउनुभयो।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी २१ वटा कलेजबाहेक बंगलादेशमा अध्ययनतततका लागि कुनै पनि प्रतिबन्ध नलगाइएको अध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो। हाल बंगलादेशमा करिब १ सय ५० वटा मेडिकल र डेन्टल कलेजले नेपाली विद्यार्थीलाई अध्ययन गराइरहेका छन्। ई–क्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले वार्षिक करिब ४ सय विद्यार्थी बंगलादेशमा अध्ययन गर्न जाने गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बंगलादेशमा कलेज समस्याग्रस्त हुनु स्वभाविक हो। ती कलेजले मापदण्ड पूरा गरे पुनः विद्यार्थी भर्ना गर्न सक्ने प्रवधान रहेको छ।’

बंगलादेशको डाइक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डीजीएचएस) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बीएम एन्ड डीसी) ले बंगलादेशका ती कलेजलाई कालोसूचीमा राखेर विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको ई–क्यानका तृतीय उपाध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिनुभयो। उहाँले कलेजलाई कालोसूचीमा राखे पनि विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने बताउँदै भन्नुभयो– ‘ती कलेजले नयाँ विद्यार्थी भर्ना लिन नपाउने हुन्, पढिरहेका विद्यार्थीलाई पढाउनै पर्ने व्यवस्था छ।’

नेपालस्थित विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्तीर्ण गरेका र नेपाल मेडिकल काउन्सिलको सहमति प्राप्त गरी निर्वाधरूपमा नेपाली विद्यार्थीहरूले भर्ना लिन पाउने भएकोले अभिभावक आत्तिनुपर्ने अवस्था नभएको इक्यानले जनाएको छ। इक्यानका करिब ३५ वटा कन्सिल्टेन्सीले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गराउन विद्यार्थी पठाउने गरेको छ।