डल्लु–ढल्को पुल मर्मत कार्य अलपत्र

0
Shares

प्रशान्त वली, काठमाडौं
काठमाडौंको डल्लु र ढल्को जोड्ने गरी विष्णुमती खोलामा निर्माणाधीन पुल भत्किएको लामो समय बिते पनि अझै मर्मत कार्यले पूर्णता पाउन सकेको छैन। जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या पर्ने गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ जोड्ने गरी निर्माण गरिएको पुल निर्माण गर्दै गर्दा गत साउनमा पुल भत्किएको थियो। ठेकेदार कम्पनी हिम सगरमाथा कन्सट्रक्सनले भने पुलले स्ल्यावको भार थेग्न नसक्दा भत्केको जानकारी दिएको छ।

कमसल निर्माण सामग्रीको प्रयोग गरेर पुल निर्माण गरिएका कारण बनाउँदा बनाउँदै भत्किएको स्थानीयले बताएका छन्। निर्माण सकेर उद्घाटन गर्ने तयारीमा रहेको पुलमा राख्न लागिएका स्ल्यावको भार थेग्न नसकेर गत साउनमा पुल भत्केको हो। बजेट सक्ने गरी कम गुणस्तरका सामग्री प्रयोग गरेर निर्माण गरिएको कारण पुल भत्केको स्थानीयले आरोप लगाएका छन्।

विष्णुमती खोलामा कालिमाटीदेखि नयाँ बजारसम्म १० वटाभन्दा बढी पुल रहेका छन्। सडक विभागले स्थानीयसँग समन्वय नगरी डेढ करोडको लगानीमा आवश्यक नभएको ठाउँमा पुल निर्माण गरेको स्थानीयको गुनासो छ। उक्त पुल स्टिल ट्रसबाट निर्माण गरिँदै थियो।

यस्तै, एसियाली विकास बैंकको १५ लाख रुपियाँको सहयोगमा विष्णुमती वारिपारि जोड्ने ढल्कु पुल मर्मत भइरहेको छ। मर्मतको काम आगामी मंसिर अन्तिम साता सकिने मर्मतको जिम्मेवारी लिएको हिम सगरमाथा कन्सट्रक्सनले बताएको छ। योजना डबलिँदा मर्मत कार्यमा ढिलाई भइरहेको बुझिएको छ। मर्मत कार्य ढिलाई हुँदा आवतजावतमा निकै अप्ठेरो भएको बिनुराम श्रेष्ठले बताउनुभयो।

मर्मत गर्दै जाँदा मेलम्ची, बागमती उच्चस्तरीय विकास मापदण्डलगायतका योजना त्यसैमा डबलिङ पर्दा पुलको डिजाइनसमेत परिवर्तन गरिँदा ढिलाई भएको दिगो शहरी यातायात आयोजनाका निर्देशक विमल सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
आयोजनाका निर्देशक सुवेदीले भन्नुभयो– ‘अहिले पुल जडानको अन्तिम काम भइरहेको र अबको केही हप्तामै पुल सञ्चालनमा आउने भन्ने जानकारी हामीलाई निर्माण कम्पनीले दिएको छ। अब छिट्टै सञ्चालनमा आउला।’