चीनमा कोरियो “मिरर अफ नेपाल”

0
Shares

ध्रुव पौडेल, बेइजिङ, चीन
चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरूको पाँच दिवसीय प्रदर्शनी चीनको च्यांगसु प्रान्तको एक शहरमा शुरू भएको छ।

नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिंग छिउ ले कोरेका ९० वटा चित्रकला समावेश गरी छांगचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा ‘मिरर अफ नेपाल’ शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार शुरू भएको हो।

छांग चौ महानगरपालिकको चिनियाँ कम्युनिस्ट पार्टी महानगर कमिटी, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्यांग्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म रहने छ।

पवित्र पर्वतको फेदीमा ‘दैनिक जीवन’ र ‘सूर्याेदयको मुहार’ भन्ने उपशीर्षकमा समेटिएका चित्रकलाको प्रदर्शनीका लागि सांघाईस्थित नेपाली अवैतानिक वाणिज्यदूतावास, छांग चौ कलाकार संघ र अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छांग् चौले सहयोग गरेका छन्।

सन् २०१३मा नेपाल भ्रमण गरेका कलाकार लिउले चिनियाँ मसी, कुची र कागजमार्फत् नेपालको वास्तविक रहनसहन, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधतालगायतका विषयलाई चित्रमा उतारेको बताउनुभयो।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्यता र विविध जनताको चित्रण गरिएको बताउनुभयो। प्रदर्शनीको लागि पठाउनुभएको शुभकामना सन्देशमा राजदूत पौडेलले प्रकृति र मानवप्रति देखाउनुभएको अभिरुची तथा प्रदर्शनी आयोजनाका खातिर गर्नुभएको मिहिनेतका लागि कलाकार लिउप्रति अभार व्यक्त गर्नुभयो। प्रदर्शनीमार्फत् चिनियाँ जनतालाई नेपालको बारेमा बुभ्mन र दुवै देशबीचको जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा अवद्ध ६८ वर्षीय कलाकार लिउका चित्रहरूले थुपै राष्ट्रियस्तरका पुरस्कार पाएका छन्। उहाँको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थाहरूमा संग्रह गरिएका छन्। प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, कोरिया, सिंगापुर, मलेसियालगायतका देश पुर्याएका उनका चित्रहरू विदेशमा पनि संग्रह गरिएका छन्। उनका चित्रकलाहरू संग्रहहरूको रूपमा पनि प्रकाशित रहेको उद्घाटन कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ।