मङ्सिर १० गतेबाट ऐतिहासिक रानीकोट दरबारको उत्खनन रमेश गिरी



भक्तपुर । सरकारले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित ऐतिहासिक रानीकोट गढी दरबारको आज उत्खनन कार्य शुरु गरेको छ ।सूर्यविनायक नगरपालिका र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको आग्रहमा पुरातत्व विभागले रानीकोट गढीको उत्खनन कार्य शुरु गरेको हो । मल्लकालमा निर्माण गरिएको रानीकोट गढी दरबार हाल भग्नावशेषका रुपमा परिणत भएको छ ।

उत्खनन कार्यको शुभारम्भ गर्दै पुरातत्वविद् तारानन्द मिश्रले गढीको प्रारम्भिक अवलोकनले यस क्षेत्र मल्लकालीन दरबार भएको स्पष्ट भएको बताए  । उत्खननबाट प्राप्त वस्तुको पुरातत्व विभागले थप अध्ययन र अनुसन्धान गरी आवश्यक संरक्षण गर्नुपर्ने बताउँदै गढी दरबारको सतहमा देखिएका इँटा, झिँगटीलगायतका सामग्रीले हेर्दा पनि दरबारकोे रहेको पुष्टि भएको बताए  ।

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले दरबार क्षेत्रमा बाघ भैरव, रानीले नुहाउने रानी कुँवा, ध्याम्पे डाँडा, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर आसपासमा हुनु र केही समय अघि फेला परेको नवपाषण हतियारले रानीकोट गढी दरबार मल्लकालीन दरबार भएको स्पष्ट भएको बताए  ।

गढी दरबार उत्खननको प्रारम्भ गर्दै सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले गढी दरबार नगरपालिकाको सम्पत्ति भएकाले नगरपालिकाले गढी दरबारको संरक्षण गर्ने बताए ।  गढी क्षेत्र नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको विकासका लागि नगरपालिकाको निरन्तर सहयोग रहने बताए  । कार्यक्रममा पुरातत्व विभाग उत्खनन शाखाका प्रमुख रामबहादुर कुँवरले उत्खननबाट प्राप्त वस्तुको विभागले संरक्षण गर्ने नगरपालिका र स्थानीय समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बताए  ।

सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले गढी दरबार क्षेत्र नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले उत्खननपश्चात् नगरपालिकाले पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको संरक्षण गर्ने पनि  बताए । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका अध्यक्ष लालबहादुर लामाले गढी दरबारमा केही वर्ष अघिसम्म ढिकी, जाँदो र मूर्ति फेला परेकाले रानीले नुहाउने कुँवा र धोबिखोला अहिले पनि यथावत रहेकाले रानीकोट गढी दरबार नै भएको पुष्टि भएको बताए । उत्खननपश्चात् संस्थाले नगरपालिका र पुरातत्व विभागसँग मिलेर आवश्यक सहयोग गर्ने लामाले प्रतिबद्धता व्यक्त गरे  ।

रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा दुई वर्ष अघि दरबार तलको थुक्कोदेखि दरबारसम्म पुग्नका लागि पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १४,०० सिँढी निर्माण भइसकेका छन् । यस क्षेत्रमा जैविक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बँदेल, बट्टाई, लामापुछुरे चरा पक्षी तथा जंगली जनावर पाइन्छन् ।

रानीकाटे दरबारको करिब दुई किलोमिटर उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशापुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेव, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरवको मूर्ति रहेको छ ।

रानीकोट दरबारको आसपासमा राष्ट्रिय प्राणी उद्यान, तत्कालीन मल्कालमा रानीले नुहाउने कुँवा, घ्याम्पे डाँडा, पाइलटबाबा आश्रमलगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन् । साथै बिहान सूर्याेदय र साँझमा सूर्यास्तसमेत नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रमा जैविक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बँदेल, बट्टाई, लामापुछुरे चरा पक्षी तथा जंगली जनावरको संरक्षणका गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्