चुनाव भन्दा लालपुर्जाको चिन्ता

0
Shares

४६ बर्ष देखि लालपुर्जाको पर्खाइमा रातामाटे बस्ती ।

हिक्मत नेपाली, दैलेख ।

दैलेख सदरमुकाम नजिकै रहेको सानो दलित बस्ती । जिल्ला समरमुकाम देखि दैलेखको प्रसिद्ध धार्मीक स्थल श्रीस्थान जाने कच्ची सडकको छेउमै रहेको उक्त बस्तीमा नेता र नेतृत्वहरु दिनहुँ जसो ओहोर दोहोर गरेकै हुन्छन् ।

निर्वाचन नजिकिदै गर्दा भोट माग्न उम्मेदवार र दलका कार्यकर्ताहरु समुदायका सधै जसो पुगेकै हुन्छन् । नारायण नगरपालिका –१ रातामाटे स्थित दलित बस्तीमा अहिले २० घरपरिवारको बसोवास गर्दै आएका छन् । दैलेख सदरमुकामसँगै जोडिएको नारायण नगरपालिका १ कुइकानाको रातामाटे दलित बस्ती आधा शताब्दीदेखि भूस्वामित्व बीहिन छ ।

२०२८ साल देखि बसोबास गर्दै आएका उक्त दलित समुदायका नागरिकहरुको प्रत्येक संसदिय निर्वाचनमा उम्मेदवारसंग एउटै बोली हुन्छ “हामीलाई जग्जाधनी लालपुर्जा खोइ ?” आषन्न निर्वाचनका लागि भोट माग्न उक्त बस्तीमा पुगेका दलका नेताहरुलाई बस्तीमा बसोबास गर्ने नागरिकहरु दुई हात जोडी भन्दै थिए, “अब त हामीलाई लालपुर्जा दिनुहुन्छ होला नी ?”

समुदायमा बसोबास गर्ने उनिहरुलाई कुन नेताले के भाषण गर्छन् भन्ने चासो हुँदैन । दलित समुदायकी डिलमाया नेपाली भन्दै थिइन, ‘चुनावले के गर्नु, हाम्रा कुरा सुन्छन् मात्र काम गर्दैनन, लालपूर्जा दिए पो भोट दिनु ।’

हामी यहाँ आएर बसोबास गर्न थालेको ४६ बर्ष पुग्यो, यस विचमा ८ वटा संसदयि निर्वाचन भए । सबै निर्वाचनमा नेताहरुले लालपुर्जा दिने आश्वासन मात्रै दिन्छन् । तर काम भने गर्दैनन् । उनले भनिन् । निर्वाचनका बेलामा लालपुर्जा दिलाउन पहल गर्ने आश्वासन दिएको ४६ बर्ष पुग्यो, तर अहिले सम्म सिन्को पनि भाचिएको छैन् ।

सामुदायिक वनको क्षेत्रमा बसोबास गर्दै आएका त्यहाँका बासिन्दाले अहिलेसम्म लालपूर्जा पाएका छैनन् । कुनै दलले धनीपूर्जा दिलाइदिने आशा नभएकैले दलित बस्तिका अधिकांशलाई चुनावसँग कुनै सरोकार नभएझैं लाग्छ ।

उक्त बस्तिका पुरुषहरु सदरमुकाम पुगेर ज्यालारमजदूरी गर्छन, महिलाहरु घरधन्दामा व्यस्त रहन्छन् । गाउँभन्दा एक घण्टा टाढा पुगेर पिउने पानी जोहो गर्नुपर्छ । केटाकेटीले आफ्ना आमाहरुलाई पानी ओसार्न मद्दत गर्छन् ।

वाम र लोकतान्त्रिक दुवै गठबन्धनले हरेक घरमा पोस्टर र पम्प्लेट टाँसिदिएका छन् । उनीहरुको दिनचर्यामा भने चुनावले प्रवेश पाएको छैन ।

स्थानीय लीला नेपालीले आँगनमा झुल्किएका दलका कार्यकर्ताहरुसँग भनिन, ‘धेरैचोटी नेता आए तर हाम्रो कुरा सुनेनन् । लालपूर्जा दिन्छौ र भोट दिनु ?’

बस्तिका अगुवा लक्षिराम नेपाली भन्दै थिए, ‘कतिवेला उठिवास हुनुपर्ने हो भन्ने चिन्ता छ । हामीर्ला त भोट भन्दा पनि लालपुर्जाकै चिन्ता बढी छ । निर्वाचन संग खासै मतलव छैन ।’

जग्गा आफ्नो नहुँदा वनबाट दाउरा, घाँससमेत ल्याउन नपाएको उनिहरु बताउछन् । आधा शताब्दीदेखि भूमिहिन हुनुको पीडा बयान नै गर्न नसकिने लक्षीराम नेपालीले सुनाए । लक्षीरामका अनुसार स्थानीय तह चुनावमा केही दलले त आफ्नो घोषणापत्रमै दलित बस्तिका बासिन्दालाई लालपूर्जा दिलाउने उल्लेख नै गरेका थिए । तर, कार्यान्वयनको पाटो शून्य छ ।

नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले रातामाटेको लालपूर्जाको समस्या छिट्टै नै समाधान हुने आश्वासन दोर्होयाए । स्थानीय तहलाई नै त्यसको अधिकार भएकाले छिट्टै पहल गरिने उनको आश्वासन छ ।

२०२८ सालमा सरस्वती गाउँपञ्चायतका तत्कालिन प्रधान नरबहादुर केसीले दैलेखकै कुसापानीको डाँडासरुबाट तीन घर दलितलाई रातामाटे ल्याएका थिए । उनले ती दलितलाई त्यहाँ ल्याएर राखे तर उनीहरुको नाममा कुनै जमिन बनाइदिएनन । सरुबाट आएका रविलाल दमाई, अमृत दमाई र हरिलाल दमाई ऐलानी जग्गामा घर बनाएर बसे ।

तत्कालिन प्रधानले उनीहरुको नाममा जग्गा नबनाई दिएकोले आजभोली ती दलितका नातीहरुले दुःख भागिरहेको छन् ।

५० को दशकमा भएको नापीमा ती दलितहरुले जग्गा नाप्ने प्रयास गरेपनि विवादका कारण उनीहरुले जग्गाको लालपूर्जा पाएका थिएनन् । नापी हुँदा कुइकानावासीले वनको जग्गा नाप्न नपाइने बताएपछि ती दलितले लालपूर्जा बन्न सकेको थिएन् ।