अछाममा सबैदलका एउटै एजेन्डा

0
Shares

विमल विष्ट, डोटी । ७ नम्बर प्रदेशको पहाडी जिल्ला अछाममा दोस्रो चरण अन्तर्गत् २१ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव हुँदैछ । एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलको उम्मेदवारीका कारण पनि जिल्ला निकै चर्चामा छ । दुवै निर्वाचन क्षेत्रमा एमालेलाई आफ्नो किल्ला बचाउनुछ भने कांग्रेस विगतको वाम विरासत भत्काउने कसरतमा छ । संविधानसभाका दुई निर्वाचनमा अछाममा एमाले र माओवादीका उम्मेदवारले जितेका थिए । स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनका कारण बहुमत तहसहित जिल्ला समन्वय समितिको नेतृत्व कांग्रेसले गरेको छ ।
क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष रावलसँग कांग्रेसका भरतकुमार स्वाँर भिड्दैछन् । दुवैजना साँफेबगर नगरपालिकाका स्थायी बासिन्दा हुन् । २०३० सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका रावल उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनेका छन् । स्वाँर जिविसका पूर्वसभापति पनि हुन् । जनगणतान्त्रिक मोर्चाका शिवसुन्दर शाहीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच मात्र मत विभाजन हुने भएको छ । संविधानसभा निर्वाचनमा रावल नै विजयी हुनु भएको थियो । एक नगरपालिका र चार गाउँपालिका रहेको उक्त निर्वाचन क्षेत्रमा एमालेले दुई, कांग्रेस एक र माओवादी केन्द्रले दुई स्थानमा जितेका छन् ।
त्यस्तै कैलाशखोलाले सीमा छुट्याएर पूर्वी भागमा पर्ने क्षेत्र नम्बर २ मा मंगलसेन नगरपालिकाका बासिन्दाहरु पुष्पबहादुर शाह र यज्ञबहादुर बोगटी प्रतिस्पर्धामा छन् । शाह कांग्रेसका पूर्व्जिल्ला सभापति र बोगटी एमाले जिल्ला सचिव हुनुहुन्छ । त्यस क्षेत्रबाट नेमकिपाका झंकरबहादुर शाही पनि प्रतिनिधिसभा उम्मेद्वार हुनु भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रमा एमालेले जितेको थियो । पाँच स्थानीय तह रहेको यस निर्वाचन क्षेत्रमा चार वटामा कांग्रेस विजयी भएको छ । एउटामा एमालेले जितेको छ । स्थानीय तहमा यस क्षेत्रबाट कांग्रेसले १८ हजार आठ सय, एमालेले १७ हजार र माओवादी केन्द्रले आठ हजार दुई सय मत ल्याएका थिए । एमाले र माओवादीको मतका कारण वाम उम्मेदवारहरुले राहत महशुस गरे पनि अछाममा कांग्रेस कमजोर छैन । चुनावी सभा र घरदैलोसँगै मतदातासँग भेटघाटमा उम्मेद्वारहरुले एकैखाले एजेन्डा प्रस्तुत गर्ने गरेका छन् । सडक, खानेपानी, बिजुली, कृषि र रोजगारी सबैका साझा एजेन्डा छन् । स्थानीय तहबाटै सम्पन्न हुनसक्ने स–साना योजनामा समेत आश्वासन बाँडिरहेका छन् । प्रतिद्वन्द्वीले केही गर्न नसकेको र आफूबाट मात्र विकास सम्भव रहेको उनीहरुको दाबी रहने गरेको छ ।
सम्पन्न भइसकेका र निर्माणाधीन ठूला योजनाहरु आफ्नो दलले जिल्लामा ल्याएको दाबी पनि सबैको रहने गरेको छ । मध्यपहाडी मार्ग, सेती राजमार्ग, बुढीगंगा जलविद्युत, साँफेबगर हवाई मैदानलगायत योजना आफ्नो कारणले बनेको एमाले नेता रावलको दाबी छ । कांग्रेसका उम्मेदवार स्वाँरले पनि ती योजना रावलले नभई आफ्नो पार्टीको सरकारका पालामा निर्माण शुरु भएको बताउँदै आउनु भएको छ ।