अन्वेषीको विमोचन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
ओरेक नेपालद्वारा तयार पारिएको महिला हिंसाविरुद्धको वर्ष पुस्तक ‘अन्वेषी’ को शनिबार लोकार्पण गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त पुस्तक लोकार्पण गर्नुभएको थियो।

महिलामाथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको उक्त वर्ष पुस्तकले समग्ररूपमा महिलाको मानव अधिकार हननको अवस्था र यसका सम्बोधनका लागि समुदायस्तरदेखि नीतिगतस्तरसम्म आवश्यक कार्यहरू गर्नका लागि सरोकारवालाहरूलाई दिशानिर्देश गर्नेछ भन्ने विश्वास संस्थाले लिएको जनाएको छ।

ओरेक नेपालले सन् २००८ देखि नै देशभरबाट महिलामाथि हुने हिंसाका घटनाहरूको अभिलेखीकरण गरी महिला हिंसाविरुद्धको वर्ष पुस्तक ‘अन्वेषी’ महिला हिंसाविरुद्धको दिवस २५ नोभेम्बरको दिन हरेक वर्ष प्रकाशन गर्दै आएको जनाएको छ।

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको १६ दिनलाई महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका रूपमा विश्वभर मनाउने गरिन्छ। लोकतन्त्रपश्चात् नेपालमा पनि यो अभियानलाई १६ दिनसम्म मनाउने गरिएको छ।

महिलामाथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहीअनुरूप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघीय निकायहरूलाई आह्वान गर्ने उद्देश्यले यो अभियानअन्तर्गत १६ दिनसम्म समुदायदेखि सबै तहसम्म विभिन्न कार्यक्रम गर्ने गरिन्छ। प्रत्येक वर्षझैं यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि भइराखेका प्रयासहरूप्रति ऐक्यबद्धता जनाउँदै ओरेक नेपालद्वार समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म विभिन्न कार्यक्रम आयोजना गरिँदै गरेको ओरेकले जनाएको छ।