दुई प्रहरी निरीक्षकसहित ७ को मृत्यु

0
Shares

नेपाल समाचारपत्र
रुकुम
र्वी रुकुमको सिस्ने गाउँपालिका–६ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी श्रीमती संघीय प्रहरी इकाइ कार्यालय मेची दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक अनिता प्रधानसमेत ७ जनाको शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ। मृतकहरूमा मुसीकोट नगरपालिका–१ बस्नेहरू सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, सुरेखा श्रेष्ठ (शाह), जनक शाह र मुसीकोट नगरपालिका–६ बस्ने यमुना मल्ल शाही रहेका छन्।

रुकुमको मुसिकोट नगरपालिका–६ कालिमाटीस्थित मध्यपहाडी लोकमार्गमा पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको ग १ ज ४२६० नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खस्न गई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा जिपका चालक दाङको तुल्सीपुर उपमहानगरपालिका–१६ बस्ने प्रेम सिउजाली थापा, रुकुमको बाफिकोट गाउँपालिका मग्मा बस्ने २१ वर्षीय सहचालक प्रेम केसी र दाङको घोराही उपमहानगरपालिका बस्ने टेकबहादुर खत्री गम्भीर घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएकोमा सबैलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मृतकको शव फेला पारेको थियो भने घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पतालतर्फ पठाएको थियो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।