चुनाव विरोधी घटनामा वृद्धि, जिम्मेवार को?

0
Shares

प्रशान्त वली, काठमाडौं
चुनावको मुखमा विभिन्न स्थानमा चुनाव विरोधी घटना भए पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

सरकारले चुनाव संवेदनशील बन्नुको मुख्य कारण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सुरक्षा थ्रेटका रूपमा लिएपछि आफ्नो पार्टीका ४ सय ७६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ।
ती सबै कार्यकर्तालाई बिनाकारण पक्राउ गरेको सो पार्टीका नेताको दाबी छ। यद्यपि आफ्नो पार्टीको चुनाव खारेज अभियान भए पनि भौतिक रूपमा नउत्रिएको विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीका नेताले नाम नछाप्ने शर्तमा बताए।

प्रहरीले भने निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको जानकारी दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका अनुसार प्रहरीले पार्टीमा आस्था राखेकै भरमा अपाङ्ग व्यक्तिलाई समेत पक्राउ गरेको छ। सो पार्टी निकट विद्यार्थी संगठनका नेता हेमन्त जिसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी निर्वाचन खारेज अभियानमा छौं।

यद्यपि हिसांत्मक गतिविधि हामीबाट भएको छैन। राज्य पक्षबाटै भएको हो। जनताले चुनाव खारेज भनेर मतपत्र जलाउँछन् भने हामीले के भन्ने ?’

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने कसैलाई नछोड्ने सरकारको योजना रहेको बताएको छ। गृह प्रवक्ता नारायण दुवाडीका अनुसार निर्वाचन भाड्ने क्रियाकलाप गर्नेलाई छोड्न नमिल्ने बताउनुभयो। प्रवक्ता दुवाडीले थप्नुभयो– ‘निर्वाचन पर्व हो। यसलाई सफल, शान्त र भयरहित वातावरण बनाउन मन्त्रालय लागि परेको छ। निर्वाचन भाड्ने कोही कसैलाई पनि हामी छाड्दैनौं।’

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई पक्रेर सरकारले अन्याय गरेको र बिनाकारण सार्वजनिक मुद्दा लगाएको भन्दै कार्यकर्ता रिहाइको मागसमेत गरेको छ। यस्तै जिल्लास्तरमा प्रहरी प्रशासनले चुनाव विरोधी गतिविधिमा संलग्न सबैलाई नियन्त्रण गर्ने र त्यसका लागि व्यापकरूपमा सुरक्षा परिचालन गरिएको बताएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनको मुखमा बम आतंक सृजना गरेको देखिएको छ। आज र मंसिर २१ गते दुई चरणमा देशभर प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।