४९ भोटका लागि करोडौं खर्च



Person voting

रविन भट्टराई, ताप्लेजुङ
अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ।

फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला आधारभूत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्ने मतदाताको संख्या मात्र ४९ रहेको छ भने यसपटकको निर्वाचनमा २९ भन्दा कम मत झर्ने सम्भावना रहेको छ।

यसअघिको स्थानीय तहको निर्वाचनमा २९ मत मात्र खसेको थियो भने यसपटक केही मतदाता जिल्लाबाहिर रहेका र केही गोठमा नै बस्ने भएकाले अझै कम मत झर्ने अनुमान रहेको स्थानीयको भनाइ छ। तर सो केन्द्रमा ९ जना कर्मचारी नै खटाउँदा करिब २ लाख ३७ हजार खर्च भइसकेको छ। अझै सो स्थानको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने भएकाले हेलिकोप्टर खर्च र सुरक्षा खर्च जोड्दा झन्डै करोड पुग्न सक्ने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो।

सो केन्द्रमा स्थानीय तहको निर्वाचनलाई नै आधार मानेर मत खस्ने अनुमान गर्दा त्यहाँ सुरक्षाकर्मी र कर्मचारीको संख्याभन्दा मतदाताको संख्या नै बढी हुने देखिएको उहाँले बताउनुभयो। ५७ मतदाता रहेको फक्ताङ्लुङ गाउँपालिका–७ को याङ्मा आधारभूत विद्यालय, १ सय ३१ मतदाता रहेको सोही गाउँपालिका–६ को घुन्सा माविमा २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलाको मतपेटिका यसपटक हेलिकोप्टरबाट सदरमुकाम ल्याउने तयारी भएको छ। ती सबै केन्द्रमा नौ जना कर्मचारी निर्वाचनका लागि परिचालन गरिएको छ।

यसैगरी १ सय ८४ मतदाता रहेको सिदिङ्वा गाउँपालिका १ को कालिखोला निमाविको केन्द्रमा १ सय ९४ मतदाता रहेको मिक्वाखोला–४ को केन्द्र र २ सय १८ मतदाता रहेको मेरिङ्देन गाउँपालिका–६ को केन्द्रमा पनि ९ जनाकै दरले कर्मचारी परिचालन गरिएको छ भने २ सय ६४ मतदाता रहेको सिलिङ्वा–१ को केन्द्रमा १० जना कर्मचारी परिचालन गरिएको छ। यी सबै केन्द्र जिल्लाका कम मतदाता भएका केन्द्र हुन्। यी केन्द्रमा अन्य केन्द्रको तुलनामा निर्वाचनका लागि बढी रकम लगानी भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्