नेपाली भाषालाई प्रभावकारी बनाउन छलफल

0
Shares

काठमाडौं, (नेस)
छिमेकी मुलुक चीनका विश्वविद्यालयमा अध्यापन भइरहेको नेपाली भाषालाई थप प्रभावकारी बनाउने बारेमा नेपाली र चिनियाँ अधिकारीहरूले छलफल गरेका छन्।

बिहीबार चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपाली भाषालाई अध्यापन गराउँदै आएको बेजिङस्थित कम्युनिकेसन विश्वविद्यालयका अध्यक्ष हु जेनरोङबीच छलफल भएको हो। दुवै पक्षबीच सांस्कृतिक गतिविधि आदान–प्रदान गर्न सकिने सम्भावनाबारेमा समेत चर्चा भएको बताइएको छ।

चीनमा विगत डेढ दशक अघिदेखि औपचारिकरूपमा नेपाली भाषा अध्यापन हुँदै आएको छ। कम्युनिकेसन विश्वविद्यालयबाट हालसम्म चौथो ब्याजका विद्यार्थी उत्तीर्ण भएर चीनको परराष्ट्र सेवा र अन्य निकायमा आबद्ध रहेको बताइएको छ। चीनबाट उत्तीर्ण भइसकेकाहरू काठमाडौंस्थित विश्वभाषा क्याम्पसमा एउटा समेस्टर अध्ययन गर्नेछन्।
बिहीबारको छलफलमा राजदूत पौडेलले नेपाल सरकारले सहयोग गर्न सक्ने विभिन्न विकल्पका बारेमा चर्चा गर्नुभएको बेजिङस्थित नेपाली दूतावासले जनाएको छ। जसअनुसार त्रिभुवन विश्वविद्यालय र विश्वभाषा क्याम्पसबाट एक⁄एक जना प्राध्यापक एक सेमेस्टरका लागि चीनको कम्युनिकेसन विश्वविद्यालय जानेछन्।