यौन दुव्र्यवहारको आरोपमा धर्मगुरु पक्राउ

0
Shares

सुरेश तामाङ, काठमाडौं
उपचारको वहानामा महिलाहरूलाई यौन शोषण गर्दै आएका अवतारी लामा पक्राउ परेका छन्। करिब १० वर्षदेखि यस्तो काममा संलग्न गुरु रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा पक्राउ परेका हुन्।

उनले आफूलाई १०औं अवतारी लामा बताउँदै आएका थिए। अवतारी लामाको वचन र शक्तिले जुनसुकै बिरामीको उपचार गर्ने दाबी गर्दै आएका लामा यौन दुव्र्यवहारको आरोपमा मंगलबार पक्राउ परेका हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

लामालाई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल बोसोनमा रहेको कासुङ गुम्बाबाट पक्राउ गरेर हिरासतमा लिएको जानकारी दिँदै सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताउनुभयो। सीआईबीले उनलाई साइबर अपराध र यौन दुव्र्यवहारको अभियोग लगाइएको छ।

सीआईबीले सो गुम्बामा रहेका ४ जना युवती र महिलालाई पनि उद्धार गरेको छ। उद्धार गरिएकालाई एक संरक्षित गृहमा राखिएको छ। उद्धार गरिएकालाई लामाले ६ महिनादेखि ९ वर्षसम्म सो गुम्बामा विभिन्न रोगको उपचारका नाममा राखेका थिए।

को हुन् गुरु भनिएका लामा?
सिन्धुली–९ कुशेश्वर दुम्जा मलङ्गा देउरालीका उनी गाउँमा माइला नामले चिनिन्छन्। विगतमा टुरिस्ट गाइडसमेत रहेका लामाले सो पेसा छोडेका थिए। करिब १५ वर्षअघि भारतमा गएर तान्त्रिक विद्या सिकेको उनी निकटकाहरू बताउँछन्। कासुङ गुम्बा आउने भक्तजनलाई लामाले आफ्नो बसमा पार्दै यस्तो यौन गतिविधि गर्ने गरेको खुलेको छ। उपचारका लागि उनीकहाँ पुगेका भक्तजनलाई काला जादु र टुनामुनामार्फत आफ्नो बसमा पार्ने गरेको पीडित युवतीहरू गुनासो गर्छन्।

उनले आफ्नो दर्शनका लागि आइपुगेका युवतीलगायत महिलालाई भित्र सेक्नुपर्छ भन्दै सबैलाई पालै पालो बोलाउने र भित्र गोप्य कोठामा लगेर ढोकासमेत बन्न गरी यौन सम्पर्क गर्ने गरेको एक पीडित युवतीले बताइन्। उनले आफूलाई १०औं अवतारी र शाश्वत भगवान् भनेर आफूसँग सहवास राखे चोखो भइन्छ भनेर महिलाहरूलाई निर्वस्त्र बनाई जबरजस्ती यौनसम्पर्क गर्ने गरेको खुलेको हो।

लामाले आफू शाश्वत भगवान् रहेकाले आफू रिसाए अनिष्ट हुने भन्दै डर देखाएर भ्रममा पार्ने गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ। त्यस्तै लामाले पीडित महिलाहरूलाई परपुरुषसँग विवाह गरेमा तिम्रो मृत्यु हुने भन्दै पटक–पटक यौन सम्बन्ध राखेको अनुसन्धानबाट खुलेको छ।

गैह्रीधारामा सेफ हाउस
काठमाडौंको गैह्रीधारास्थित एक घरको तल्लो फ्ल्इट पुरै भाडामा लिई धर्मगुरुले सेफ हाउस सञ्चालन गरेको भेटिएको छ। उनले हाल सो घरमा आफ्नो कान्छी छोरी राखेको र उनलाई देखभाल गर्न गुम्बाका दुई किशोरी खटाइएका थिए। बोसोन गाउँमा गुम्बा बन्नुअघि गैह्रीधारामै युवती तथा महिलालाई राखेर धर्मगुरुले यौन शोषण गर्ने गरेको एक पीडित युवतीले बताइन्। पछि बोसोनमा गुम्बा बनाएपछि त्यी युवतीहरूलाई गैह्रीधाराबाट उतै सारिएका थिए।

यसरी बाहिरिएको थियो गुरुको कर्तुत
एक वर्षअघि एउटी युवती आफूलाई धर्मगुरुले यौन शोषण गर्ने गरेको गुनासो गर्दै आफूलाई उद्धार गर्न टेलिफोनमार्फत आग्रह गरेकी थिइन्। परिवारले धेरै प्रयास गरे पनि उनलाई त्यहाँबाट उद्धार गर्न सकेको थिएन। उनलाई उद्धार गर्न जाँदा भेटघाट गर्न नदिने, उल्टै प्रहरीकामा झुठो उजुरी दिँदै परिवारलाई दुःख दिने गरेको पीडित आफन्तले बताए। यस्तै क्रममा काभ्रेकी २६ वर्षीया (कमला) लामालाई परिवार र आफन्तले ३ महिनाअघि उद्धार गर्न सफल भए।

टेलिफोनमार्फत आफन्तसहित परिवारलाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै धम्क्याएपछि उद्धार गरिएकी कमला आफन्तलाई थाहा नदिई फेरि एक महिनापछि गुम्बामा फर्किएकी थिइन्। यसपछि मात्र घटना प्रहरीसमक्ष पुगेको थियो।