देउवालाई ओलीको कटाक्ष, “हामी प्रजातन्त्रका लागि लड्दा तपार्इं कुन देशमा हुनुहुन्थ्यो?”

0
Shares

नरेन्द्र केसी, घोराही
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई कटाक्ष गर्दै आफूहरू प्रजातन्त्रका लागि लडिरहँदा तपाईं कुन देशमा हुनुहुन्थ्यो ? भनेर प्रश्न गर्नुभएको छ। वामपन्थीले जिते लोकतन्त्र सकिन्छ भन्ने देउवाको अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले यस्तो कटाक्ष गर्नुभएको हो।

दाङको घोराहीमा बुधबार वाम गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘म २०४६ सालको आन्दोलनमा सडकमा जीवनमरणको लडाइ लडिरहेको बेला देउवाजी कुन देशमा हुनुहुन्थ्यो मलाई चाहिँ जानकारी छैन, जसले प्रजातन्त्रका लागि रगत बगायो त्यही शक्तिले प्रजातन्त्र चाहँदैन भन्न मिल्छ ।

वामपन्थीले जितेपछि लोकतन्त्र होइन कांग्रेस नेताहरूको भ्रष्टाचारको युग भने सकिने उहाँको दाबी थियो। ‘हामीलाई लोकतन्त्रको सर्टिफिकेट कसैले दिइरहनुपर्दैन, कांग्रेसका नेताहरूले भनेजस्तै लोकतन्त्र सकिने होइन हामीले जितेपछि उहाँहरूको भ्रष्टाचारको युग भने सकिन्छ।’ आफूहरूले राष्ट्रिय स्वाभिमान र जनताले समान अधिकार पाउनुपर्छ भनेर आवाज उठाउँदा त्यो लोकतन्त्रविरोधी नहुने पनि ओलीले बताउनुभयो।

नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाएर कम्युनिस्ट सरकार बनाउने उद्घोष गर्दै ओलीले थप्नुभयो– ‘जसले जे भनोस्, अब एमाले र माओवादी मिल्योमिल्यो, नेपालमा कम्युनिस्ट सरकार बन्योबन्यो।’ वामपन्थीको बहुमत निश्चित भएको उल्लेख गर्दै उहाँले दुई तिहाई मत दिन मतदातासँग आग्रह गर्नुभयो। ‘तपाईं मत दिनुहोस्, हामी विकास दिन्छौं, जित्ने त निश्चित भइसक्यो, अब दुई तिहाईका लागि मत दिनुहोस्’– उहाँले भन्नुभयो। अहिले तालमेलबाट शुरू भएको अभियान पार्टीमा एकतामा पुग्ने उल्लेख गर्दै उहाँले एकता हुँदैन कि भनेर कसैले शंका गर्नु आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभयो।

विप्लवलाई सुझाव– बुद्धिको बटुका सोझ्याउनुस्
अध्यक्ष ओलीले निर्वाचन वहिष्कार गरेको नेक्रविक्रम चन्द विप्लवको पार्टीलाई बुद्धिको बटुका (कचौरा) सोझ्याउन सुझाव दिनुभएको छ। ‘म विप्लव भाइलाई भन्न चाहन्छु, तपाईं पनि बुद्धिको बटुका सोझ्याउनुहोस्, वहिष्कार भन्नुहुन्छ अनि हामी आउने दिन रोजेर बन्द आह्वान गर्नुहुन्छ’ –बुधबार विप्लव पार्टीले गरेको दाङ बन्दप्रति लक्षित गर्दै भन्नुभयो– ‘वहिष्कार गर्ने भए चुनावी सभामा आउने जनता किन रोक्नुपर्यो, कसको मद्दतका लागि यो काम गर्दै हुनुहुन्छ ?’

सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको चुनाव पार्टीको एकताकै तयारी भएको बताउनुभयो। अब यो देशमा पूँजीवादी व्यवस्था कि समाजवादी व्यवस्था भन्ने जनमत संग्रहकै रूपमा निर्वाचन हुन थालेकाले समाजवादी शक्तिलाई अत्यधिक मतका साथ विजयी गराउन पनि उहाँले आग्रह गर्नुभयो।