प्रधानमन्त्री देउवाद्वारा निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

बुधबार बिहान अस्पताल पुग्नुभएका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ। चिकित्सकहरूले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन्। धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आउनुभएको थियो। त्यस क्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ गत सोमबार राजधानी आउनुभएको हो।