अभिषेक र मायांका च्याम्पियन


 

काठमाडौं, (नेस)
पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणा राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा आठ खेलाडी सहभागी राउन्ड रोविनको पुरुष सिंगल्समा अभिषेकले ७ खेलमा जित हात पारे। राष्ट्रिय च्याम्पियन नेपाल आर्मीका संरक्षकभूषण वज्राचार्यले दोस्रो स्थानमा चित्त बुझाए। उनले ६ मा जित र १ मा हार बेहोरे। त्यस्तै आर्मीका प्रणव खनाल (५ जित र २ हार) तेस्रो तथा प्रहरीका कमलबहादुर भण्डारी (४ जित र ३ हार) चौथो भए। एपीएफका श्रीराम मगरले पाँचौं, एपीएफकै सन्तोष खत्रीले छैटौं, प्रहरीका दावा शेर्पाले सातौं तथा पश्चिमाञ्चलका प्रदीपले आठौं स्थानमा यात्रा टुंगाए।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा शतप्रतिशत जित निकाल्ने क्रममा मायांकाले ६ वटै खेलको नतिजा आफ्नो पक्षमा पारिन्। महिलाको राउन्ड रोविन लिगमा ७ खेलाडी सहभागी थिए। समूह चरणको खेलमा आठै खेलाडी राउन्ड रोविनका लागि छनोट भए पनि चोटका कारण आर्मीकी ईरा रावतले शुरूबाटै प्रतियोगिता त्यागेकी थिइन्। ४ जित र २ हारमा मायांकाकी जुम्ल्याहा बहिनी प्रहरीकै माहिका दोस्रो भइन्।