‘तमसुक गरेर सरकार चलाउने समय गयो’

0
Shares

 

चितवन, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन गर्नबाट कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ। उहाँले वामपन्थीको नेतृत्वमा स्थिर सरकार निर्माण भएपछि विकासले गति लिने बताउनुभयो।

संयुक्त वाम गठबन्धन, चितवनले मंगलबार आयोजना गरेको माओवादी केन्द्रका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो।

तमसुक गरेर सरकार चलाउने समय अब गएको बताउँदै अध्यक्ष ओलीले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताउनुभयो। पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न आग्रह गर्दै उहाँले वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरूपमा स्वाधिन बन्ने बताउनुभयो। उहाँले वामपन्थीको नेतृत्वमा बन्ने सरकारले मात्र देशको समृद्धि सम्भव भएको बताउनुभयो।

श्रद्धाञ्जली सभा एवं चुनावी सभामा उपस्थित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा सम्बोधन गर्नुभएन। कार्यक्रममा प्रचण्डकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि
सहभागी हुनुहुन्थ्यो।