इजलास रोकियो



 

काठमाडौं, (नेस)
सर्वोच्च अदालतभित्र बम आतंकका कारण सबै इजलास स्थगित गरिए पनि बम नभएको प्रहरीले दाबी गरेको छ। अदालतका कर्मचारीलाई दिउँसोको समयमा नचिनेको नम्बरबाट बम राखेकाले सतर्क रहनु भन्दै फोन आएपछि अदालत प्रशासनले इजलास स्थगित गरेको थियो।

अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै अदालतका प्रवक्ता सहरजिस्ट्रार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्वोच्चमा पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासीसमेत गरेका थिए। यस्तै खानतलासीका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको महानगरिय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सबै इजलास खाली गरी न्यायाधीशलाई बाहिर निकालियो। यद्यपि कसले र किन त्यत्तिकै बम राखेको भनेर कल गर्यो भन्नेबारे केही पत्ता लागेको छैन। अनुसन्धानलाई तीव्र पारेका छौं। ‘फेक कल’ पनि हुन सक्छ।’ सर्वोच्चको प्रशासनले बमबारे हल्ला भएपछि हिजो मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको थियो।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरूले बम नराखेको बताएको छ। नाम नभन्ने सर्तमा एक नेताले भने– ‘हामीले बम राखेका होइनौं। यो सरकारको नौटंकी हो। त्यत्तिकै हल्ला पिटाइएको छ।’

प्रतिक्रिया दिनुहोस्