नक्कली प्रमाणपत्र बनाउने गिरोहको पर्दाफास, डीभीको अन्तर्वार्ता दिँदादिँदै पक्राउ



 

ईश्वरराज ढकाल, काठमाडौं
चाँडै अमेरिका पुगेर बसोबास गर्ने योजनासहित गिरोहमार्फत नक्कली प्रमाणपत्र बनाउने सिन्धुली तीनपाटन–४ का रुद्रबहादुर मोक्तान र ताप्लेजुङका भुवानीप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

डीभी परेपछि प्लस टुको प्रमाणपत्र आवश्यक पर्ने भएकाले दुवै जनाले छुट्टाछुट्टै गिरोहलाई नक्कली प्रमाणपत्र बनाउन दिए। प्रमाणपत्र तयार भएपछि दूतावासको अन्तिम अन्तर्वार्तामा समावेश हुनै लाग्दा महानगरीय अपराध महाशाखाले गिरोहलाई पक्राउ गर्यो।

परिवारसहित अमेरिका जाने सपना बोकेका दुवै जनाको सपना त चकनाचुर भयो नै प्रहरीको ‘कस्टडी’मा पनि बस्नुपर्यो। मोक्तानलाई २०१७ र भट्टराईलाई २०१८ को डीभी परेको थियो। उनीहरूको फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेस गरे। केही महिनापछि सेकेन्ड लेटर पनि आयो।

‘अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएको थियो। दूतावासकै आग्रहअनुसार हामीले उनीहरूको प्रमाणपत्र छानविन गर्यौं र नक्कली फेला पारेपछि तत्काल पक्राउ गर्यौं।’ –महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले भन्नुभयो।

‘ठूलो गिरोहको सक्रियता पत्ता लगाएका छौं, हामीले केही दिनमा उनीहरूलाई पक्राउ गर्नेछौं।’ –उहाँले भन्नुभयो। प्रहरीका अनुसार मोक्तानले प्लस टुको प्रमाणपत्र, प्रोभिजनल प्रमाणपत्र बनाउन भन्दै देवराज तामाङको सम्पर्कमा गएका थिए। तामाङलाई मोक्तानले ३ लाख ५० हजार रुपियाँ दिएका थिए।

त्यसपछि देवराजले मोक्तानको प्रमाणपत्र बनाउन चण्डोलका स्क्युर्ड लाइफ कन्सल्टेन्सीका सञ्चालक अनिल श्रेष्ठलाई ४५ हजार रुपियाँ दिई प्रमाणपत्र बनाउन लगाएलगत्तै श्रेष्ठले ३० हजारमा सत्य विनायक कम्युनिकेसनका सञ्चालक विशालजंग शाहीलाई, शाहीले १२ हजार रुपियाँमा सुरेशजंग शाहीलाई र सुरेश शाहीले कृष्ण अछामीलाई ५ हजार ५ सय रुपियाँमा प्रमाणपत्र बनाउन दिएको खुलेको छ।

त्यस्तै भट्टराईले प्लसटुको प्रमाणपत्र बनाउन सन्तोष तिवारीसँग सम्पर्क गरेका थिए। तिवारीले अभय पोखरेललाई सम्पर्क गराएका र पोखरेलले ९० हजार रुपियाँ लिएर प्रमाणपत्र बनाएको खुलेको छ।

प्रहरीले मोक्तान र भट्टराईसँगै विशालजंग शाही, सुरेशबहादुर शाही, अभय पोखरेल, अनिल श्रेष्ठ, देवराज तामाङ र सन्तोषकुमार तिवारीलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड र एसएलसी कार्यालयबाट प्रमाणपत्र नक्कली भएको पत्ता लगाएको थियो। प्रहरीले मोक्तानलाई अन्तर्वार्ता दिँदादिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो भने भट्टराईलाई नक्कली प्रमाणपत्र पेस गरेको जानकारी पाउनासाथ पक्राउ गरेको थियो।

प्रहरीले यसअघि नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा जापान र दक्षिण कोरिया पठाउने गिरोहलाई पनि पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये अभय पोखरेल २०६९ सालमा कीर्ते गरी पक्राउ भएका व्यक्ति हुन्। गिरोहमध्ये प्रहरीले कृष्ण अछामीलाई पक्राउ गर्न सकेको छैन।
राजधानीमा यस्ता थुप्रै गिरोह हुन सक्ने जानकारी गराउँदै एसएसपी लोहनीले भन्नुभयो– ‘हामी अन्य गिरोहको पनि खोजी गरिरहेका छौं।’ अमेरिकी दूतावासले प्रमाणपत्रमा शंका लागेपछि प्रहरीलाई खबर गरेको थियो।

डीभी परेपछि अनिवार्यरूपमा प्लसटुको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। पछिल्लो समयमा नक्कली प्रमाणपत्र पेस गरेर अमेरिका गएको सूचना पाएपछि दूतावासले प्रमाणपत्र परीक्षणलाई विशेष महत्त्व दिएको छ।

प्रतिक्रिया दिनुहोस्